परराष्ट्रमन्त्रीको जवाफ चित्त नबुझेपछि आशिका रिसाइन्, संसदीय मर्यादामा रहन सभामुखको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङलाई संसदीय मर्यादा र गरिमामा रहन निर्देशन दिएका छन्।

परराष्ट्रमन्त्री शिशिर खनालले सांसद तामाङले यसअघि उठाएका विषयमा दिएको जवाफप्रति असन्तुष्टि जनाउँदै उनले थप स्पष्टीकरण माग गरेपछि संसद्मा केहीबेर विवाद उत्पन्न भएको थियो।

मन्त्रीको जवाफ चित्त नबुझेको भन्दै सांसद तामाङले थप प्रश्न गर्न समय माग गरेकी थिइन्। तर, सभामुख अर्यालले प्रतिनिधिसभा नियमावलीको व्यवस्था उल्लेख गर्दै थप प्रश्नका लागि समय उपलब्ध नरहेको जानकारी गराएका थिए।

सभामुखले पटक–पटक आसन ग्रहण गर्न आग्रह गर्दा पनि सांसद तामाङले प्रश्न गर्ने अडान नछाडेपछि सभामुखले उनलाई सभाको मर्यादा र गरिमाको ख्याल गर्न निर्देशन दिएका थिए।

थप बोल्ने तथा स्पष्टीकरण दिने अवसर नपाएको भन्दै सांसद तामाङ त्यसपछि प्रतिनिधिसभा बैठकबाट बाहिरिएकी थिइन्।