संविधान संशोधनजस्तो गम्भीर विषयमा वर्तमान सरकार गम्भीर देखिएन : कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसले संविधान संशोधनजस्तो गम्भीर विषयमा वर्तमान सरकार गम्भीर नदेखिएको आरोप लगाएको छ।
मंगलबार पार्टी कार्यालय सानेपामा हालै सम्पन्न केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्दै कांग्रेस प्रवक्ता देवराज चालिसेले सरकारले पर्याप्त राजनीतिक संवाद र सहमतिबिना संविधान संशोधनको प्रक्रिया अघि बढाएको बताएका हुन्।
कांग्रेस केन्द्रीय समिति बैठकले संविधानको रक्षा, कार्यान्वयन तथा जनताको आवश्यकता र इच्छाअनुसार समयानुकूल संशोधनको नेतृत्व गर्ने जिम्मेवारी कांग्रेसको रहेको निष्कर्ष निकालेको छ।
प्रवक्ता चालिसेले संविधान गतिशील दस्तावेज भएकाले बदलिँदो आवश्यकता र परिस्थितिअनुसार यसको संशोधन हुनु लोकतान्त्रिक प्रक्रियाको स्वाभाविक अंग भएको बताए। तर संशोधनको प्रक्रिया भने संसद्को क्षेत्राधिकारभित्र रहेर व्यापक राजनीतिक संवाद, बहस र सहभागिताका आधारमा अघि बढ्नुपर्ने उनको भनाइ थियो।
‘संविधान संशोधनको वैधानिक प्रक्रिया संसद्को क्षेत्राधिकारभित्र पर्दछ र यसको संशोधनमा जनमतको प्रतिनिधित्व पनि हुनुपर्दछ। यसका लागि सर्वपक्षीय राजनीतिक संवाद, बहस र सहभागिता आवश्यक पर्छ,’ उनले भने।
सरकारले राजनीतिक दलबीच पर्याप्त छलफल र सहमतिबिना एकपक्षीय रूपमा समिति गठन गरेर संविधान संशोधनको विषय अघि बढाएको कांग्रेसको आरोप छ। यही कारण सुरुदेखि नै कांग्रेसले सरकारद्वारा गठित कार्यदलमा सहभागी नहुने निर्णय गरेको चालिसेले बताए।
कांग्रेसले लोकतन्त्र, गणतन्त्र, संघीयता, नागरिक सर्वोच्चता, बहुलवाद, बहुदलीय संसदीय प्रणाली, शक्ति पृथकीकरण, स्वतन्त्र न्यायपालिका, अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता, विधिको शासन, समावेशिता र मानवअधिकारजस्ता संविधानका आधारभूत मान्यतामा कुनै सम्झौता गर्न नसकिने स्पष्ट पारेको छ।
संविधान संशोधनको प्रक्रिया अघि बढाउँदा सर्वपक्षीय राजनीतिक संवाद, व्यापक बहस र सबै सरोकारवालाको सहभागिता सुनिश्चित गर्न कांग्रेसले सरकारसँग माग गरेको छ।
