प्रधानमन्त्री शाहसँग भारतका स्थल सेनाध्यक्ष सेठबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री तथा रक्षामन्त्री बालेन शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले शिष्टाचार भेटवार्ता गरेका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटवार्तामा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसमेत सहभागी थिए।

नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणमा जनरल सेठ चारदिने नेपाल भ्रमणका क्रममा आइतबार काठमाडौं आएका हुन्।

भ्रमणका क्रममा सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए।

नेपाल र भारतबीच सन् १९५० देखि एकअर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्ने परम्परा रहँदै आएको छ।

सोमबार नै नेपाली सेनाका प्रधानसेनापति सिग्देल र भारतीय स्थल सेनाध्यक्ष सेठबीच द्विपक्षीय भेटवार्तासमेत भएको थियो।