कांग्रेस संस्थापन इतरको राष्ट्रिय भेलामा साढे चार हजार प्रतिनिधि सहभागी हुने
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आयोजना गर्न लागेको राष्ट्रिय भेलामा देशभरबाट करिब चार हजार पाँच सय प्रतिनिधि सहभागी हुने भएका छन्।
कांग्रेस नेता डा. शशांक कोइरालाको नेतृत्वमा गठित समितिले साउन २९ देखि ३१ गतेसम्म राष्ट्रिय भेला आयोजना गर्न लागेको हो। भेलाको सम्पूर्ण तयारी पूरा भएको प्रचार–प्रसार उपसमितिका संयोजक मीन विश्वकर्माले जानकारी दिए।
विश्वकर्माका अनुसार साउन २९ गते दिउँसो १ बजे काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा भेलाको उद्घाटन हुनेछ।
‘भेलाको सबै तयारी पूरा भएको छ,’ उनले भने।
उनका अनुसार भेलामा सहभागी हुने प्रतिनिधिको मापदण्ड तय गरिएको छ। सोही मापदण्डका आधारमा देशभरबाट करिब चार हजार पाँच सय प्रतिनिधि सहभागी हुनेछन्।
भेलाको पहिलो दिन उद्घाटन सत्र सञ्चालन हुनेछ भने दोस्रो दिन बन्द सत्र आयोजना गरिनेछ। बन्द सत्र बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म सञ्चालन हुनेछ।
दिउँसो खाना खाएपछि १ बजेदेखि पुनः बन्द सत्र सञ्चालन गर्ने कार्यतालिका तय गरिएको छ। भेलामा पार्टीको वर्तमान अवस्था, संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल हुने बताइएको छ।
