परिणाम दिन नसके अर्को ‘भदौ २३’ आउन सक्छ : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीले जनताले दिएको जिम्मेवारीअनुसार परिणाम दिन नसके अर्को ‘भदौ २३’ जस्तो अवस्था आउन सक्ने संकेत गरेका छन्।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा रास्वपाले मंगलबार पर्यटन बोर्डको हलमा आयोजना गरेको कार्यक्रममा बोल्दै लामिछानेले युवाको नेतृत्वबाट अपेक्षित परिणाम दिन नसके युवा नेतृत्वप्रति नै नकारात्मक भाष्य निर्माण हुन सक्ने चेतावनी दिए।

उनले गत वर्ष भदौ २१ र २२ गतेसम्म दुई तिहाइको सरकार र शक्तिशाली दुई पार्टी सत्तामा रहे पनि भदौ २३ गते रातारात परिस्थिति बदलिएको स्मरण गरे।

‘गत वर्षको भदौ २१, २२ गते त ठिकै थियो, सरकार दुई तिहाइ थियो। शक्तिशाली दुई पार्टी सरकारमा थियो, कसले छुन सक्थ्यो र? २३ आइपुग्यो नि ओभरनाइट,’ लामिछानेले भने।

आफूहरूले गलत भाष्यलाई काममार्फत चिर्न नसके परिस्थिति फेरि गम्भीर मोडमा पुग्न सक्ने उनको भनाइ थियो।

‘हामीले गलत भाष्यलाई कामबाट चिर्न सकेनौँ भने हेर्दाहेर्दै डिलमा जान्छ,’ उनले भने।

लामिछानेले रास्वपाले आफ्नो जिम्मेवारी पूरा गर्न नसके केही वर्षभित्रै युवाबाट राजनीति सम्भव नहुने भन्ने धारणा बलियो बन्न सक्ने बताए।

‘यदि कुनै पनि कारणले हामीले हाम्रो जिम्मेवारी पूरा गर्न सकेनौँ भने तुरुन्तै सम्भवत: केही वर्षभित्रै एउटा भाष्य बन्नेछ कि युवाबाट रहर गरेर नहुने रहेछ, अनुभव नभएका मान्छेहरूबाट राजनीति त सम्भव नहुने रहेछ भन्ने वातावरण सिर्जना हुन सक्छ,’ उनले भने।

यस्तो अवस्थामा त्यसको सबैभन्दा ठूलो असर आफूहरूमाथि नै पर्ने लामिछानेले बताए। युवाको नेतृत्व स्थापित गर्न सफल भएको भन्दै केवल सफलताको गीत गाएर नपुग्ने र त्यसलाई व्यवहारमा परिणाममा बदल्नुपर्ने उनको भनाइ थियो।

युवाको नेतृत्वका लागि परिपक्वता, अनुभव र उमेर नै अनिवार्य हुन्छ भन्ने भाष्य स्थापित भए त्यसले भविष्यका पुस्ताका युवालाई राजनीतिमा आउन निरुत्साहित गर्ने भन्दै लामिछानेले त्यसलाई घातक हुने बताए।