म्याग्दीमा जलविद्युत् गृहमा पहिरो खस्दा सुरक्षा गार्ड बेपत्ता, एक कामदारको उद्धार

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारस्थित घारखोला जलविद्युत् आयोजनाको विद्युत् गृहमा पहिरो खस्दा एक जना सुरक्षा गार्ड बेपत्ता भएका छन्। पहिरोमा पुरिएका अर्का एक कामदारलाई भने घाइते अवस्थामा उद्धार गरिएको छ।

पोखरेबगरस्थित १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको विद्युत् गृहमा मंगलबार बिहान करिब ३ बजे पहिरो खसेको हो। विद्युत् गृहको पछाडिको ल्यासीको भीरबाट ढुङ्गासहितको सुक्खा पहिरो खसेर विद्युत् गृहको केही भाग पुरिएको प्रहरीले जनाएको छ।

पहिरोपछि आयोजनाको सुरक्षार्थ खटिएका अन्नपूर्ण गाउँपालिका–६ का ५५ वर्षीय दीपक बरुवाल सम्पर्कविहीन भएका छन्। उनको खोजीका लागि प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

त्यस्तै, पहिरोमा पुरिएका गौरीगङ्गा नगरपालिका–५ का ३१ वर्षीय सुरेन्द्र विकलाई घाइते अवस्थामा उद्धार गरिएको छ। उनलाई प्राथमिक उपचारपछि थप उपचारका लागि प्रदेश अस्पताल बेनी पठाइएको छ।

घटनाको जानकारी पाएपछि अन्नपूर्ण गाउँपालिका–२ भुरुङतातोपानीस्थित इलाका प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। अहिले पनि बेपत्ता बरुवालको खोजी तथा उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर तिमिल्सिनाले जानकारी दिए।

पहिरोका कारण विद्युत् गृहका केही भागसँगै आयोजनाका उपकरणमा समेत क्षति पुगेको छ। क्षतिका कारण १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको विद्युत् उत्पादनसमेत बन्द भएको छ।