कलाकारितामा हास्य विधा सबैभन्दा चुनौतीपूर्ण : राजेश हमाल
काठमाडौँ । अभिनेता राजेश हमालले कलाकारिताका विभिन्न विधामध्ये हास्य विधा सबैभन्दा चुनौतीपूर्ण रहेको बताएका छन्। मानिसलाई हँसाउनु अन्य भाव प्रस्तुत गर्नुभन्दा कठिन काम भएको उनको भनाइ छ।
ललितपुरमा आइतबार आयोजित नेपालकै पहिलो ‘कमेडी एक्ट’मा आधारित रियालिटी शो ‘सुपर कमेडी लिग’ को औपचारिक घोषणा कार्यक्रममा बोल्दै हमालले हास्य कलाकारहरूको सिर्जनात्मकता र प्रस्तुतिको उच्च प्रशंसा गरे।
उनले भावनात्मक अभिनयमार्फत दर्शकलाई रुवाउन वा प्रेमका विषय प्रस्तुत गर्न सहज भए पनि प्रस्तुतिकै माध्यमबाट हँसाउनु निकै चुनौतीपूर्ण हुने बताए।
‘भावनामा आएर कसैलाई रुवाउन वा माया–प्रेमका कुरा प्रस्तुत गर्न सहज भए पनि प्रस्तुतिमार्फत कसैलाई हँसाउनु निकै चुनौतीपूर्ण हुन्छ,’ हमालले भने, ‘यो व्यक्तिको सेन्स अफ ह्युमरसँग प्रत्यक्ष जोडिएको विषय हो।’
हास्य विधामा सक्रिय कलाकारहरूप्रति आफूमा उच्च सम्मान रहेको बताउँदै हमालले कमेडीलाई जटिल र विशिष्ट कला भएको बताए। कार्यक्रममा उपस्थित अभिनेता रविन्द्र झाको प्रसंग उल्लेख गर्दै उनले हास्य कलाकारहरूको प्रस्तुतिको शैली र शिल्पको समेत प्रशंसा गरे।
आफू पनि ‘सुपर कमेडी लिग’को हिस्सा बन्न पाएकोमा खुसी व्यक्त गर्दै हमालले यस कार्यक्रमले नेपाली मनोरञ्जन क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे।
रविन्द्र झाका लागि ‘सुपर कमेडी लिग’ स्कुल
अभिनेता रविन्द्र झाले ‘सुपर कमेडी लिग’ आफूका लागि महत्वपूर्ण सिकाइको केन्द्र भएको बताए। कार्यक्रममा आफूले पाएको जिम्मेवारीभन्दा पनि यहाँबाट प्राप्त हुने अनुभव र ज्ञानलाई बढी प्राथमिकता दिने उनको भनाइ छ।
उनले कार्यक्रममा राजेश हमालको उपस्थितिलाई मुख्य आकर्षणका रूपमा उल्लेख गर्दै हमालसँग सहकार्य र सिक्ने अवसर पाउनु आफ्ना लागि खुसीको विषय भएको बताए।
‘यो शो मेरा लागि एउटा स्कुल हो, जहाँ म शिक्षकको भूमिकामा छु भने राजेश दाइ प्रधानाध्यापक हुनुहुन्छ,’ झाले भने, ‘उहाँसँग सहकार्य गर्न पाउनु र उहाँबाट धेरै कुरा सिक्ने अवसर हुनु मेरा लागि खुसीको कुरा हो।’
लिगमा नयाँ तथा पुराना कलाकारको संगम हुने भएकाले सबैबाट केही न केही नयाँ कुरा सिक्न सकिने उनले बताए। शोका प्राविधिक तथा अन्य पक्षबारे विस्तृत जानकारी दिनुअघि केही एपिसोड प्रसारण हुन दिनुपर्ने उनको भनाइ छ।
सुरक्षा पन्त टिम क्याप्टेन
अभिनेत्री सुरक्षा पन्तले ‘सुपर कमेडी लिग’मा टिम क्याप्टेनको भूमिका निर्वाह गर्ने जानकारी दिइन्। कार्यक्रमको अवधारणाले आफूलाई आकर्षित गरेको बताउँदै उनले पारिवारिक तथा सौहार्दपूर्ण वातावरणमा हेर्न मिल्ने हास्य–व्यङ्ग्यात्मक कार्यक्रमका रूपमा यसले नेपाली दर्शकमाझ छुट्टै पहिचान बनाउन सक्ने विश्वास व्यक्त गरिन्।
पन्तले ओझेलमा परेका प्रतिभाहरूका लागि यो शो महत्वपूर्ण मञ्च बन्न सक्ने बताइन्। विभिन्न कारणले आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर नपाएका कलाकारलाई ठूलो प्लेटफर्म उपलब्ध गराउनु लिगको महत्वपूर्ण उपलब्धि हुने उनको भनाइ छ।
आफ्नो नयाँ भूमिकालाई व्यक्तिगत चुनौतीका रूपमा लिएको बताउँदै पन्तले टोलीलाई निश्चित दृष्टिकोणमा अघि बढाएर उत्कृष्ट प्रदर्शन गराउनु नेतृत्व कौशल सिक्ने अवसरसमेत भएको बताइन्।
‘हाम्रो समाजमा धेरै प्रतिभाशाली व्यक्तिहरू हुनुहुन्छ, जसले उचित प्लेटफर्मको अभावमा आफ्नो कला लुकाएर बस्नुभएको छ। त्यस्ता लुकेका प्रतिभाहरूलाई वृहत् मञ्च प्रदान गर्नु नै यो लिगको सबैभन्दा ठूलो सफलता हुनेछ,’ उनले भनिन्।
आफूलाई कमेडी विधामा कम अवसर आउने गरेको उल्लेख गर्दै पन्तले हास्य विधा आफूलाई मन पर्ने र ‘सुपर कमेडी लिग’मार्फत नयाँ अनुभव हासिल गर्न उत्साहित रहेको बताइन्।
नेपालमा पहिलोपटक सुरु हुन लागेको ‘कमेडी एक्ट’मा आधारित यस रियालिटी शोले नयाँ तथा पुराना कलाकारलाई एउटै मञ्चमा ल्याउँदै नेपाली हास्य क्षेत्रमा नयाँ प्रयोग र सम्भावनाको ढोका खोल्ने अपेक्षा गरिएको छ।
