‘गौंथली’ धेरै कमाउने सातौं नेपाली फिल्म, कमाइ १६ करोड ७८ लाख

काठमाडौं । निर्देशक कपिल रिजालको फिल्म ‘गौंथली’ अहिलेसम्मकै धेरै कमाउने सातौं नेपाली फिल्म बनेको छ। शुक्रबार मध्यान्हसम्म फिल्मले देशभरबाट १६ करोड ७८ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ।

यो कमाइसँगै ‘गौंथली’ले छक्कापञ्जा १, छक्कापञ्जा २, छक्कापञ्जा ५, कोहिनुर, महाजात्रा र आबाट आमा जस्ता सफल नेपाली फिल्मलाई उछिनेको छ। अब यसअघि रहेका जारी, छक्कापञ्जा ४, परान, १२ गाउँ, कबड्डी ४ र पूर्णबहादुरको सारंगी मात्र यसको अगाडि छन्।

हालको कमाइको गति हेर्दा आगामी सातासम्म ‘गौंथली’ले ‘जारी’ लाई पनि उछिन्ने अनुमान गरिएको छ। बलियो ‘वर्ड अफ माउथ’ र प्रतिस्पर्धी ठूला फिल्मको अभावका कारण फिल्मको व्यापार अझै केही समय सकारात्मक रहने अपेक्षा गरिएको छ।

निर्माता सुमन गिरी भान्जाले फिल्मको सफलताले आफूहरू मात्र होइन, समग्र नेपाली चलचित्र उद्योगलाई पनि उत्साहित बनाएको प्रतिक्रिया दिएका छन्।