कोइराला निवास मर्मतका लागि छुट्याइएको २ करोड लिन शेखरले गरे अस्वीकार
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बीपी कोइरालाको जन्मघर (कोइराला निवास) मर्मतका लागि सरकारले विनियोजन गरेको २ करोड रुपैयाँको बजेट अस्वीकार गरेका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत आर्थिक वर्ष २०८३/८४ को बजेटमा विराटनगर–७ स्थित कोइराला निवासको मर्मत तथा सम्भारका लागि २ करोड रुपैयाँ छुट्याइएको थियो।
सरकारप्रति आभार व्यक्त गर्दै शेखर कोइरालाले राज्यका सीमित स्रोत–साधन अभावमा रहेका नागरिकको हितमा खर्च हुनुपर्ने भन्दै उक्त रकम नैतिक रूपमा स्वीकार गर्न नसक्ने बताएका छन्।
जारी विज्ञप्तिमा उनले देशमा अझै धेरै नागरिक अभाव र कठिनाइमा जीवन बिताइरहेको उल्लेख गर्दै त्यस्ता नागरिकको उत्थानका लागि सरकारी स्रोत उपयोग हुनुपर्ने धारणा व्यक्त गरेका छन्।

