नेपाल चीन–दक्षिण एसियाबीचको आर्थिक सहकार्यको पुल बन्न सक्छ : परराष्ट्रमन्त्री खनाल
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले चीन र दक्षिण एसियाबीच आर्थिक, व्यापारिक तथा जनस्तरीय सहकार्य विस्तार गर्न नेपालले ‘गतिशील पुल’को भूमिका निर्वाह गर्न सक्ने बताएका छन्।
ललितपुरमा आयोजित ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसिया : विकसित क्षेत्रीय व्यवस्थामा चीन–भारत–नेपाल त्रिपक्षीय सम्बन्ध’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपालले चीन र भारतसँग सार्वभौम समानता, पारस्परिक सम्मान र साझा हितका आधारमा सम्बन्ध सुदृढ गर्दै आएको बताए।
उनले एसियाको तीव्र आर्थिक रूपान्तरणले साझा समृद्धिका लागि नयाँ अवसर सिर्जना गरेको उल्लेख गर्दै सहकार्य नै दिगो विकास र दीर्घकालीन समृद्धिको सबैभन्दा प्रभावकारी माध्यम भएको धारणा राखे। चीन र भारतको आर्थिक उन्नतिले नेपालका लागि व्यापार, लगानी, पूर्वाधार, कनेक्टिभिटी र पर्यटनका क्षेत्रमा उल्लेखनीय अवसर सिर्जना गरेको उनको भनाइ थियो।
परराष्ट्रमन्त्री खनालले नेपालको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको उल्लेख गर्दै यसको मुख्य उद्देश्य व्यापार, लगानी, रोजगारी, उद्यमशीलता, पर्यटन, प्रविधि र दिगो विकासमार्फत नागरिकको जीवनस्तर सुधार गर्नु रहेको बताए।
उनले दक्षिण एसियामा क्षेत्रीय आर्थिक एकीकरण अपेक्षाकृत कमजोर रहेको उल्लेख गर्दै कनेक्टिभिटी, सहज व्यापार, लगानी प्रवाह र आपूर्ति शृंखला सुदृढ गर्न सके क्षेत्रले ठूलो आर्थिक लाभ लिन सक्ने बताए।
खनालले सरकारले नेपाललाई भूपरिवेष्ठित मुलुकबाट चीन र दक्षिण एसियालाई जोड्ने ‘जीवन्त र गतिशील पुल’का रूपमा विकास गर्ने लक्ष्य लिएको जानकारी दिए। उनले नेपालमा ४२ हजार मेगावाटभन्दा बढी आर्थिक रूपमा सम्भाव्य जलविद्युत्, पर्यटन, कृषि, जैविक विविधता र डिजिटल अर्थतन्त्रमा लगानीका प्रशस्त सम्भावना रहेको पनि उल्लेख गरे।
उनले विश्वास, पारस्परिक सम्मान र साझा हितमा आधारित क्षेत्रीय साझेदारीलाई सुदृढ बनाउँदै ऊर्जा, जलवायु परिवर्तन, डिजिटल रूपान्तरण, अनुसन्धान तथा जनस्तरीय सम्बन्ध विस्तारमा जोड दिनुपर्ने आवश्यकता औँल्याए।
