राज्यका निकायलाई प्रधानमन्त्रीले हतोत्साहित गरिरहेका छन् : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले राज्यका महत्त्वपूर्ण निकायका प्रमुखहरूलाई हतोत्साहित गर्दै शासकीय अराजकता बढाएको आरोप लगाएका छन्।
शुक्रबार नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै थापाले प्रधानमन्त्री, मन्त्री र सांसदहरूको कार्यशैलीले विधिको शासन कमजोर बनाएको दाबी गरे। उनले मन्त्रीबिनै बैठक बस्ने, जिम्मेवार पदाधिकारीबाट उत्तेजक अभिव्यक्ति आउने र संवैधानिक निकायमाथि दबाब सिर्जना हुने प्रवृत्ति चिन्ताजनक भएको बताए।
थापाले वर्तमान सरकार प्रचण्ड बहुमतको अहंकारमा चलेको आरोप लगाउँदै लघुवित्त तथा सहकारी पीडित, शिक्षक, नर्स र चिकित्सकसँग भएका सम्झौता कार्यान्वयन गर्न सरकार गम्भीर नभएको बताए।
उनले नागरिकको राज्यप्रतिको विश्वास जोगाउनु कांग्रेसको दायित्व रहेको उल्लेख गर्दै लोकतन्त्र, विधिको शासन र संवैधानिक मूल्यको रक्षाका लागि कांग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए।
