प्रधानमन्त्रीसँग मासिक प्रश्नोत्तर गराउन सभामुखको रुलिङ माग
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा अनिवार्य सहभागी गराउन सभामुख डोलप्रसाद अर्यालसँग रुलिङको माग गरेको छ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रतिनिधिसभा नियमावलीको व्यवस्था कार्यान्वयन गर्न आग्रह गर्दै प्रधानमन्त्रीलाई सांसदहरूको प्रत्यक्ष प्रश्नको जवाफ दिने कार्यक्रममा उपस्थित गराउन सभामुखले आवश्यक निर्देशन दिनुपर्ने बताए।
प्रतिनिधिसभा नियमावलीको नियम ५६ अनुसार प्रत्येक महिनाको पहिलो हप्ताको एक दिन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि एक घण्टा छुट्याउनुपर्ने व्यवस्था छ। बैठक बस्न नसके त्यसपछिको पहिलो बैठकमै कार्यक्रम सञ्चालन गर्नुपर्ने प्रावधान पनि रहेको छ।
तर उक्त व्यवस्था व्यवहारमा कार्यान्वयन नभएको भन्दै संसद्मा पटक–पटक प्रश्न उठ्दै आएको छ। नेकपाले अब नियमावलीअनुसार प्रधानमन्त्रीलाई नियमित रूपमा प्रश्नोत्तर कार्यक्रममा सहभागी गराउन सभामुखले रुलिङ गर्नुपर्ने माग गरेको छ।
