हिन्दू राज्य र अभिभावकीय राजसंस्था पुनर्स्थापना जय नेपाल पार्टीको मुख्य एजेन्डा : धवलशम्शेर राणा

काठमाडौं । नवगठित जय नेपाल पार्टीका प्रस्तावित अध्यक्ष धवलशम्शेर राणाले पार्टीको प्रमुख वैचारिक एजेन्डा सनातन धर्मसापेक्ष हिन्दू राज्य र अभिभावकीय भूमिकासहितको राजसंस्थाको पुनर्स्थापना रहेको बताएका छन्।

नयाँ पार्टीको घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा राणाले नेपालमा शासन सञ्चालन निर्वाचित जनप्रतिनिधिबाट हुने भए पनि राजसंस्थाले राष्ट्रको अभिभावक, राष्ट्रिय एकताको प्रतीक र राष्ट्ररक्षकको भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे। उनका अनुसार पार्टीले राजनीतिक हस्तक्षेप गर्ने राजसंस्था होइन, संवैधानिक र अभिभावकीय भूमिकामा रहने राजसंस्थाको पक्षमा वकालत गर्नेछ।

नेपाल बहुजातीय, बहुभाषिक र बहुधार्मिक मुलुक भएकाले राजसंस्था राष्ट्रिय एकताको केन्द्र बन्न सक्ने उनको दाबी थियो। उनले राजसंस्था हटाइएपछि मुलुकको अवस्था कमजोर बन्दै गएको भन्दै त्यसको पुनर्स्थापना आवश्यक रहेको जिकिर गरे।

राणाले प्रस्तावित हिन्दू राज्य कुनै एक धर्म विशेषका लागि नभई सबै धर्मावलम्बीको धार्मिक स्वतन्त्रताको सम्मान गर्ने व्यवस्थासहितको हुने बताए। हिन्दू राज्यको अवधारणाले अन्य धर्ममाथि कुनै प्रतिबन्ध नलगाउने र सबै नागरिकलाई आ–आफ्नो धर्म पालन गर्ने पूर्ण स्वतन्त्रता रहने उनको भनाइ थियो।

राप्रपा छाड्नुको कारण स्पष्ट पार्दै उनले उक्त पार्टीबाट आफ्नो एजेन्डा पूरा हुन नसक्ने निष्कर्षमा पुगेको बताए। राप्रपाका नेताहरू व्यक्तिगत स्वार्थमा केन्द्रित हुँदा पार्टीले आफ्नो मूल एजेन्डाबाट विचलित भएको उनको आरोप थियो।

राणाले साउन २८ गते जय नेपाल पार्टी निर्वाचन आयोगमा दर्ता गर्ने तयारी रहेको जानकारी दिए। साथै, पार्टीलाई लोकतान्त्रिक, युवा तथा महिलामैत्री बनाइने र नेतृत्व चयनदेखि निर्णय प्रक्रियासम्म बहुमत तथा सर्वसम्मतिको अभ्यासलाई प्राथमिकता दिइने बताए।