महँगीदेखि सीमा सुरक्षा र न्यायसम्मका मुद्दामा सांसदहरूले सरकारको ध्यानाकर्षण गराए

काठमाडौं । राष्ट्रिय सभाको सोमबारको बैठकको शून्य समयमा सांसदहरूले महँगी, एलपी ग्यासको अभाव, सीमा सुरक्षा, खाद्य गुणस्तर, दलित समुदायका माग तथा महिला हिंसालगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

सांसद कृष्णबहादुर रोकायाले दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिले नागरिकको जनजीवन कष्टकर बनेको बताए। भारतमा एलपी ग्यासको मूल्य घटे पनि नेपालमा मूल्य नघटाइएको र बजारमा कृत्रिम अभाव सिर्जना भएको उल्लेख गर्दै विशेषगरी रुकुम पश्चिममा ग्यास आपूर्ति सहज बनाउन माग गरे।

सांसद विष्णुकुमारी सापकोटाले चाडपर्वको मुखमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण खाद्यान्नको मूल्यसमेत बढेको भन्दै सरकार नागरिकका आधारभूत समस्याप्रति संवेदनशील हुनुपर्ने बताइन्।

सांसद श्रीकृष्णप्रसाद अधिकारीले बजारमा विषादीयुक्त तथा मिसावटयुक्त खाद्य सामग्रीको बिक्री भइरहेको भन्दै प्रभावकारी बजार अनुगमन र गुणस्तर नियन्त्रणका लागि जनशक्ति बढाउन सरकारसँग माग गरे।

सीमा सुरक्षाको विषय उठाउँदै सांसद पूजा चौधरीले नवलपरासीको सुस्तास्थित थारु टोलमा निर्माणाधीन अस्थायी बाँध भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले भत्काएको घटनाप्रति आपत्ति जनाइन्। उनले उक्त विषय राष्ट्रियता र सार्वभौमिकतासँग जोडिएको भन्दै कूटनीतिक माध्यमबाट दीर्घकालीन समाधान खोज्न सरकारसँग आग्रह गरिन्।

सांसद विष्णुबहादुर विश्वकर्माले लिपुलेक–लिम्पियाधुरा क्षेत्रमा छिमेकी मुलुकको गतिविधि तथा सुस्तामा नेपाली नागरिकमाथि भएको दुर्व्यवहारप्रति सरकार गम्भीर बन्नुपर्ने भन्दै सीमा सुरक्षाका लागि ठोस कदम चाल्न माग गरे।

दलित समुदायका अधिकारका विषयमा सांसद पदमबहादुर परियार र विष्णुबहादुर विश्वकर्माले माइतीघरमा १०७ दिनदेखि सत्याग्रहमा रहेकी दीपा नेपालीसँग वार्ता गरी समस्या समाधान गर्न सरकारसँग आग्रह गरे। उनीहरूले निर्वाचनका बेला प्रतिबद्धता जनाएका राजनीतिक दलहरू सरकारमा पुगेपछि दलित समुदायका मुद्दाप्रति उदासीन बनेको आरोप पनि लगाए।

सांसद रेणु चन्दले सुदूरपश्चिमकी पूजा धानुकको शंकास्पद मृत्युको निष्पक्ष छानबिन गर्न माग गर्दै दाइजोका कारण हुने हिंसा र हत्याका घटनामा कडा कारबाही हुनुपर्ने बताइन्। उनले यो घटना पनि निर्मला पन्त प्रकरणजस्तै न्यायविहीन बन्न नदिन सरकारलाई सचेत गराइन्।

सांसद विष्णुदेवी पुडासैनीले १० वर्षसम्म निष्क्रिय रहेका बैंक खाताको रकम सरकारी खातामा सार्ने तयारीप्रति असहमति जनाउँदै त्यस्तो रकम कम्तीमा २० वर्षसम्म सुरक्षित राखी आवश्यक परे स्वास्थ्य सेवामा उपयोग गर्ने व्यवस्था गर्न सुझाव दिइन्। उनले विद्युत् महसुलमा लगाइएको भ्याट तथा यातायात मजदुरमाथि हुने चर्को जरिवानाप्रति पनि असन्तुष्टि व्यक्त गरिन्।

त्यसैगरी सांसद पूजा चौधरीले पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरोमा परी कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा तथा अन्य नेपाली र विदेशी नागरिकको निधन भएको घटनाप्रति दुःख व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गरिन्।