कार्यकर्तालाई महासचिव पोखरेलले भने – सरकारविरुद्ध आन्दोलनमा जानुपर्ने अवस्था आउन सक्छ, तयार रहनुहोस्
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाउँदै पार्टीका नेता–कार्यकर्तालाई आवश्यक परे सरकारविरुद्ध सडक आन्दोलनमा उत्रिन तयार रहन निर्देशन दिएका छन्।
पार्टीका प्रदेश कमिटीका पदाधिकारी तथा ‘मिसन पार्टी जागरण’ अभियानका केन्द्रीय प्रतिनिधिहरूसँगको भर्चुअल बैठकलाई सम्बोधन गर्दै पोखरेलले शासकीय अनुभव नभएका व्यक्तिहरू सरकारमा पुगेकाले देश जटिल परिस्थितिबाट गुज्रिरहेको दाबी गरे।
उनले वर्तमान सरकारले सुरुदेखि नै पूर्वाग्रह र प्रतिशोधको भावनाबाट काम गरिरहेको आरोप लगाउँदै विभिन्न स्वार्थ समूहहरूको प्रभाव बढ्दै गएको पनि बताए।
‘सरकार सुरुदेखि पूर्वाग्रह र प्रतिशोधपूर्ण ढंगले अगाडि बढेको छ। अहिले नियम–कानुनलाई बेवास्ता गर्दै स्वेच्छाचारी शासनतर्फ उन्मुख भइरहेको देखिन्छ,’ पोखरेलले भने।
महासचिव पोखरेलले राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै कुनै पनि बेला आन्दोलनको आवश्यकता पर्न सक्ने भएकाले पार्टीका सबै तहका कमिटी र कार्यकर्तालाई त्यसका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छन्।
