अनावश्यक विषयान्तर गरेर मूल प्रश्नबाट नभाग्न सरकारलाई कांग्रेस नेता घिमिरेको चुनौती
काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री गुरुराज घिमिरेले कांग्रेसको आधिकारिकता विवादमा बिचौलियासँग लेनदेन भएको आरोपबारे निष्पक्ष छानबिन गरी तथ्य र प्रमाणका आधारमा निष्कर्ष निकाल्न सरकारलाई चुनौती दिएका छन् ।
उनले छानबिनको उद्देश्य कसैलाई खुसी पार्ने, प्रतिशोध साँध्ने वा पूर्वाग्रह राख्ने नभई सत्यको पहिचान र दोषीलाई जवाफदेही बनाउनु हुनुपर्ने बताएका छन् ।
कांग्रेसको आधिकारिकता विवादमा बिचौलियासँग लेनदेन भएको आरोप सार्वजनिक भएपछि मूल विषयबाट ध्यान मोड्न अनावश्यक विषयान्तर गर्न खोजिएको उनको भनाइ छ ।
घिमिरेले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘छानबिनको उद्देश्य कसैलाई खुसी पार्नु, प्रतिशोध साँध्नु वा पूर्वाग्रह राख्नु होइन, सत्यको पहिचान, न्यायको सुनिश्चितता र जिम्मेवार पक्षलाई जवाफदेही बनाउनु हो ।’
कांग्रेसले विधिको शासन, निष्पक्षता र पारदर्शितामा विश्वास गर्ने उल्लेख गर्दै उनले राज्यको दायराभित्र रहेका बिचौलियाहरू पनि कानुन र नियमनभन्दा माथि हुन नसक्ने बताएका छन् ।
‘त्यसैले, सुम्पिएको जिम्मेवारी इमानदारीपूर्वक पूरा गर, तथ्य र प्रमाणका आधारमा निष्कर्ष निकाल र परिणाम सार्वजनिक गर,’ उनले भनेका छन् ।
उनले अनावश्यक विषयान्तर गरेर मूल प्रश्नबाट नभाग्न सरकारलाई चुनौती दिएका छन्।
