सुनसरी घटनाको समाधान संवाद र सहमतिबाट गर्न सर्वदलीय बैठकको संयुक्त आह्वान

काठमाडौं । संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलहरूले सुनसरी घटनाबाट उत्पन्न परिस्थितिको समाधान शान्तिपूर्ण संवाद, सहमति र संयमतामार्फत खोज्न सबै पक्षसँग संयुक्त आह्वान गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा बुधबार बसेको सर्वदलीय बैठकपछि जारी संयुक्त वक्तव्यमा लोकतान्त्रिक व्यवस्थामा उत्पन्न हुने जुनसुकै असन्तुष्टि र समस्याको समाधान संवाद र सहमतिबाट मात्र सम्भव हुने उल्लेख गरिएको छ। दलहरूले सबै पक्षलाई आफ्ना माग शान्तिपूर्ण ढंगले राख्न र संयमता अपनाउन आग्रह गरेका छन्।

वक्तव्यमा पछिल्ला घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको छ। साथै, घाइते नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

दलहरूले नेपालको विविधताबीचको एकता, सहिष्णुता र सहअस्तित्वको परम्परा जोगाउन कुनै पनि प्रकारका उत्तेजनात्मक वा अवाञ्छित गतिविधिमा संलग्न नहुन आम नागरिकलाई अपिल गरेका छन्। आवेग, हिंसा र मुठभेडले समस्या समाधान नगरी झन् जटिलता बढाउने भएकाले सबै पक्षलाई संयमित हुन आग्रह गरिएको छ।

संयुक्त वक्तव्यअनुसार शान्ति र सामाजिक सद्भाव कायम राख्न प्रदेश, जिल्ला तथा स्थानीय तहमा तत्काल सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरी संवादलाई तल्लो तहसम्म विस्तार गर्ने निर्णय गरिएको छ। साथै, नागरिकस्तरमा विश्वासको वातावरण निर्माण गर्न राजनीतिक दलका विभिन्न तहका समितिलाई सक्रिय भूमिका खेल्न निर्देशन दिने सहमति भएको छ।

स्थानीय तहमा धार्मिक अगुवा, नागरिक समाज तथा प्रशासनसँग समन्वय गरेर शान्ति कायम राख्न आवश्यक पहल गर्नुपर्नेमा पनि बैठकले जोड दिएको छ। यस्ता संवेदनशील घटना भविष्यमा दोहोरिन नदिन राजनीतिक दलहरूको केन्द्रीय तहले आवश्यक समन्वय, अनुगमन र नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।

वक्तव्यमा सामाजिक सञ्जालमार्फत फैलिन सक्ने भ्रामक सूचना, अफवाह र घृणास्पद अभिव्यक्तिले परिस्थिति थप जटिल बनाउन सक्ने उल्लेख गर्दै आम नागरिकलाई सामाजिक सञ्जाल जिम्मेवारीपूर्वक प्रयोग गर्न तथा सञ्चारमाध्यमलाई तथ्यपरक, सन्तुलित र संयमित सूचना सम्प्रेषण गर्न आग्रह गरिएको छ।

बैठकले नागरिकको जिउधनको सुरक्षा राज्यको प्राथमिक दायित्व भएको उल्लेख गर्दै नेपाल सरकारलाई अधिकतम संयमता अपनाई परिस्थिति सामान्य बनाउन, घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न तथा पीडितलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन गम्भीर ध्यानाकर्षण गराएको छ।

संयुक्त वक्तव्यको अन्त्यमा राष्ट्रिय एकता र सामाजिक सद्भावको रक्षाका लागि सहभागी सबै राजनीतिक दल एकताबद्ध रहेको जनाउँदै उत्पन्न समस्याको दिगो, प्रभावकारी र शान्तिपूर्ण समाधानका लागि सरकार र समाजलाई हरसम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।