सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री बालेन शाहको आह्वान, सुनसरी घटनाका पीडितलाई न्याय र क्षतिपूर्तिको प्रतिबद्धता
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सुनसरीमा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारलाई न्याय, पीडितलाई क्षतिपूर्ति र दोषीमाथि कानुनबमोजिम कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले घटनाबाट प्रभावित परिवारको पीडा सरकारले गम्भीरतापूर्वक महसुस गरेको उल्लेख गरेका छन्। उनले पीडितलाई न्याय दिलाउन र उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।
सुरक्षाकर्मीको गोली लागेर नागरिकको ज्यान जानु र अन्य व्यक्ति घाइते हुनु अत्यन्त गम्भीर विषय भएको उल्लेख गर्दै उनले घटनाको अनुसन्धान सुरु भइसकेको र दोषीमाथि कानुनअनुसार कारबाही गरिने स्पष्ट पारेका छन्।
प्रधानमन्त्री शाहले सरकारको पहिलो दायित्व नागरिकको सुरक्षा सुनिश्चित गर्नु, पीडितलाई न्याय दिलाउनु र दोषीलाई कानुनी दायरामा ल्याउनु रहेको बताएका छन्। उनले सरकारले यी दायित्व यथाशीघ्र पूरा गर्ने प्रतिबद्धता पनि जनाएका छन्।
उनले लेखेका छन्, “मान्छेको सबैभन्दा पहिलो धर्म मान्छे जोगाउनु हो। सरकारको पनि पहिलो धर्म आफ्ना नागरिकलाई सुरक्षित राख्दै कसुरदारलाई कारबाही गर्नु र पीडितलाई न्याय तथा क्षतिपूर्ति दिलाउनु हो। सरकारले यो दायित्व यथाशक्य छिटो पूरा गर्नेछ।”
प्रधानमन्त्रीले नागरिकलाई उत्तेजना, आक्रोश र प्रतिशोधको भावना त्यागेर संयमता अपनाउन आग्रह गर्दै सामाजिक सद्भाव, आपसी विश्वास र सहिष्णुता कायम राख्न सबैलाई आह्वान गरेका छन्।
उनले भनेका छन्, “फेरि पनि आग्रह गर्छु, मनमा तुष, रिस, डर वा आक्रोश छन् भने हटाइदिनुहोस्। उत्तेजित हुने वा गराउने कुनै पनि गतिविधिमा सहभागी नहुनुहोस्। सुरक्षित र संयमित भएर बसौँ, एकअर्कालाई प्रेम र सम्मान गरौँ र सामाजिक सद्भाव कायम राखौँ।”
प्रधानमन्त्री शाहले घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्।
