गोपालमान श्रेष्ठको निधनमा कांग्रेसको तीनदिने शोक, भोलि सबै पार्टी कार्यालय बन्द

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै तीनदिने शोक मनाउने निर्णय गरेको छ।

बुधबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले वरिष्ठ नेता श्रेष्ठको सम्मानमा साउन १३ देखि १५ गतेसम्म केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।

बैठकले साउन १४ गते देशभरका सबै पार्टी कार्यालय बन्द गर्ने निर्णय पनि गरेको छ। साथै, स्वर्गारोहण भएको दिनदेखि १३ दिनसम्म केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयमा शोक पुस्तिका राखिने जनाइएको छ।

त्यसैगरी, १३औँ दिन वरिष्ठ नेता श्रेष्ठको गृह जिल्ला स्याङ्जाको कालिगण्डकीस्थित राम्दीघाटमा अस्तु विसर्जन गरिने र त्यसपछि जिल्लामा शोकसभा आयोजना गर्ने निर्णय पनि कांग्रेसले गरेको छ।

कांग्रेसले वरिष्ठ नेता श्रेष्ठको राजनीतिक योगदानको स्मरण गर्दै विभिन्न कार्यक्रममार्फत श्रद्धाञ्जली अर्पण गर्ने जनाएको छ।