गाङखेलबाट १ लाख २० हजार लागुऔषध क्याप्सुल बरामद, तीन जना पक्राउ
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ गाङखेलबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारत घर बताउने २६ वर्षीय राकेश कुमार शाह, बाराको कलैया–५ निवासी २१ वर्षीय नौसाद अन्सारी तथा ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–५ घर भई हाल ललितपुर महानगरपालिका–६ बस्दै आएका २४ वर्षीय दीपक राई रहेका छन्।
सशस्त्र प्रहरी बल नेपालका अनुसार भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएको लागुऔषध बिक्री–वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा इन्टेलिजेन्स ब्युरोको विशेष टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीले उनीहरूको साथबाट ‘डामाडोल’ नामक लागुऔषधका १ लाख २० हजार क्याप्सुल, बा.प्र.०२–०६५ प ४४८९ नम्बरको मोटरसाइकल, डिएसी ३९१८ नम्बरको टाटा कम्पनीको ट्रक, तीन थान मोबाइल फोन तथा नगद नेपाली रुपैयाँ बरामद गरेको जनाएको छ।
सशस्त्र प्रहरी बलका डीएसपी शैलेन्द्र थापाका अनुसार पक्राउ परेका तीनै जनालाई बरामद लागुऔषध, नगद, सवारीसाधन तथा मोबाइलसहित थप अनुसन्धान र कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको छ।
