पेनाल्टीमा कोलम्बियामाथि स्विट्जरल्यान्डको रोमाञ्चक जित, ७२ वर्षपछि क्वार्टरफाइनलमा प्रवेश

काठमाडौं । स्विट्जरल्यान्डले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ। यससँगै स्विट्जरल्यान्ड ७२ वर्षपछि विश्वकपको अन्तिम आठमा पुग्न सफल भएको हो।

क्यानडाको बिसी प्लेस, भ्यानकुभरमा सम्पन्न राउन्ड अफ १६ को अन्तिम खेलमा निर्धारित ९० मिनेट र त्यसपछिको ३० मिनेटको अतिरिक्त समयसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो।

पेनाल्टीमा कोलम्बियाका जुआन क्विन्टेरो, जामिन्टन क्याम्पाज र लुइस डियाजले गोल गरे। तर डेभिन्सन सान्चेज र कुचो हर्नान्डेजले पेनाल्टी चुकाएपछि टोली प्रतियोगिताबाट बाहिरिन बाध्य भयो।

स्विट्जरल्यान्डका तर्फबाट ग्रानिट जाका, जेकी आम्दोनी, सेड्रिक इटेन र रुबेन वर्गासले सफल प्रहार गरे। म्यानुअल अकांजीले भने पेनाल्टीमा गोल गर्न सकेनन्। त्यसपछि स्विट्जरल्यान्डले ४–३ को जित निकाल्दै क्वार्टरफाइनल यात्रा तय गर्‍यो।

स्विट्जरल्यान्ड सन् १९५४ को विश्वकपपछि पहिलो पटक क्वार्टरफाइनलमा पुगेको हो। त्यसयता टोली समूह चरण वा अन्तिम १६ बाटै बाहिरिँदै आएको थियो।

यो स्विट्जरल्यान्डको १३औँ विश्वकप सहभागिता हो भने टोलीले समग्रमा चौथोपटक क्वार्टरफाइनलमा स्थान बनाएको हो।

अब स्विट्जरल्यान्डले सेमिफाइनल प्रवेशका लागि साविक विजेता अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ।

यता, पराजित कोलम्बियाको दोस्रोपटक विश्वकपको क्वार्टरफाइनल पुग्ने सपना अधुरै रह्यो।