कपिलवस्तुमा तनाव बढेपछि निषेधाज्ञा विस्तार, सीडीओ कार्यालय अगाडि प्रदर्शन

काठमाडौं । कपिलवस्तु को महाराजगन्ज क्षेत्रमा दुई समुदायबीचको विवादपछि उत्पन्न तनाव नियन्त्रणका लागि स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा आइतबार पनि निरन्तर राख्दै यसको दायरा विस्तार गरेको छ।

जिल्ला प्रशासन कार्यालय अगाडि आगो बालेर प्रदर्शन भएपछि निषेधाज्ञा थप क्षेत्रमा विस्तार गरिएको हो। यसअघि शनिबार महाराजगन्ज नगरपालिका–२ वर्गदामा भएको झडपपछि प्रशासनले निषेधाज्ञा लागू गरेको थियो।

निषेधाज्ञाअन्तर्गत महाराजगन्जको पूर्वमा बर्गदी पुल, पश्चिममा बहादुरगञ्ज चोक, उत्तरमा महाराजगञ्ज बजार र दक्षिणमा हर्दौना क्षेत्रभित्र भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न प्रतिबन्ध लगाइएको छ।

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार शनिबारदेखि लागू गरिएको निषेधाज्ञा आइतबार पनि कायम राखिएको छ भने केही क्षेत्र थप गरिएको छ। उनले अर्को आदेश नभएसम्म निषेधाज्ञा जारी रहने बताए।

ईद र नवरात्र पर्वका क्रममा वडा नं. २ र ३ को सीमाक्षेत्रमा देखिएको विवादले उग्र रूप लिएपछि झडप भएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले ७ राउन्ड अश्रुग्यास प्रहार गरेको थियो।

झडपमा सुरक्षाकर्मी र प्रदर्शनकारी गरी करिब २० जना घाइते भएका छन्। प्रशासनले सबै पक्षलाई संयम अपनाउँदै सामाजिक सद्भाव कायम राख्न आग्रह गरेको छ।