नेपाली कांग्रेस भित्र समानान्तर गतिविधि: देउवा–कोइराला समूहद्वारा छुट्टै केन्द्रीय समिति बैठक आह्वान

काठमाडौं । नेपाली कांग्रेस भित्रको आन्तरिक विवाद चर्किँदै जाँदा देउवा–कोइराला समूहले छुट्टै केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको छ।

विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिको बैठक सानेपामा जारी रहँदा उक्त समूहले पुरानो केन्द्रीय समितिलाई सक्रिय बनाउने तयारी गरेको हो। नेता मीनबहादुर विश्वकर्माका अनुसार आज बिहान पूर्णबहादुर खड्का को संयोजकत्वमा कार्यसम्पादन समितिको बैठक बसेको थियो, जसले छिट्टै केन्द्रीय कार्यसमिति बैठक बोलाउने निर्णय गरेको छ।

बैठकको मिति र समय खड्काले नेताहरूसँग परामर्श गरेर तय गर्ने बताइएको छ। साथै, कांग्रेस सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्मा लाई उक्त बैठकमा नबोलाइने जानकारी दिइएको छ। यसअघि उनीहरूलाई कारबाही गरिएको निर्णय पनि सोही समूहले गरेको थियो।

समूहले विशेष महाधिवेशनविरुद्ध अदालतमा मुद्दा दायर गरिसकेको छ। मुद्दा विचाराधीन रहेकाले अन्तिम फैसला नआउँदासम्म पार्टीभित्र समानान्तर गतिविधि जारी रहने संकेत देखिएको छ।

बैठकमा शेखर कोइराला, शशांक कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजय गच्छदार, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, प्रकाशशरण महत, मीनेन्द्र रिजाल, धनराज गुरुङ, जीवन परियार, बद्री पाण्डे लगायतका नेताहरू सहभागी थिए।