मंसिरमा महाधिवेशन गर्ने देउवाको दाउ

काठमाडौं । क्रियाशील सदस्यता बिवाद समाधान हुन नसकेपछि सत्तारुढ दल नेपाली काँग्रेसको १४ औं महाधिवेशन अनिश्चित भएको छ । आगामी भाद्र १६ देखी १९ गतेका लागि महाधिवेशनको लागि मिति तय गरिएको थियो । भदौ २३ गते भित्रमा महाधिवेशन हुन नसकेको खण्डमा बर्तमान कार्यसमिति सँगै नेपाली काँग्रेस पार्टी नै अवैधानिक हुने भएको छ ।
पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई अवैधानिक हुन नदिनका लागि भएपनि बिशेष महाधिवेशन गर्नुपर्ने प्रस्ताव अगाडि सारेका छन । १३ औं महाधिवेशका प्रतिनिधिहरुबाट अधिवेशन गराएर भएपनि पार्टी जोगाउनुपर्ने उनको तर्क रहेको छ । तर उनको प्रस्तावलाई पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले उति सारो मतलव राखेका भने छैनन ।
महाधिवेशनमा हुने सुनिश्चित नहुर्दै एक दर्जन भन्दा बढी नेताहरुले सभापतिका लागि आकाँक्षी बनेर उम्मेदवारी प्रस्तुत गरेका थिए । आफनै समुहबाट सभापति देउवालाई चुनौती दिदै उपसभापति बिमलेन्द्र निधी, गोपालमान श्रेष्ठलगायत नेताहरुले उम्मेदवारी घोषणा गरेपछि उनी अफट्यारोमा परेका थिए ।
यसैगरी संस्थापनइतर समुहबाट बरिष्ठ नेता पौडेल बिरुद्ध महामन्त्री शंशाक कोइराला, शेखर कोइराला, प्रकाशमान सिंहलगायत नेताहरुले सभापतिको उम्मेदवारी दिने घोषणा कारण पहिलो पुस्ताका देउवा र पौडेल अलमलमा परेका छन । यस्तो बेलामा क्रियाशील सदस्य बितरण बिवाद हल हुन नसक्नुलाई अर्थपुर्ण रुपमा हेरिएको छ । दुवै नेताहरुको भित्री इशारामा नै यस्तो खेल भएको त होइन भन्ने प्रश्न पनि उठेको छ ।
यसैबिच, नेपाली काँग्रेसका नेताहरु महाधिवेशन सार्ने गृहकार्यमा अगाडि बढेका छन । २०७२ फागुन २३ गते १३ औं महाधिवेशन सम्पन्न गरेको भदौ २३ गते ५ वर्ष ६ महिना पुरा हुँदैछ । नेपालको संविधानको धारा २७९ उपधारा ४ अनुसार महाधिवेशन भएको ५ वर्ष ६ महिनाभित्र केन्द्रीय र प्रादेशिक कार्यसमितिको निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ ।
यसबीचमा महामन्त्री शशांक कोइरालाको सचिवालयले पनि निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गरेको थियो । त्यसपछि सर्वोच्च अदालतको पूर्ण इजलासको फैसला अनुसार ४ महिना महाधिवेशन सार्ने गरी काँग्रेस नेताहरु अगाडि बढेको बताइएको छ ।
संस्थापन पक्षका एक नेताका अनुसार सर्वोच्च अदालतको पूर्ण इजलासको फैसला बमोजिम मंसिर मसान्तसम्म निर्वाचन आयोगका पदाधिकारीले शुन्य समयका नाममा महाधिवेशन गर्न स्वीकृत दिनेछ । काँग्रेसका लागि त्यति सहजता प्रधान गरिदिन निर्वाचन आयोग तयार रहेकोसमाचार श्रोतले जानकारी दिएको छ ।
जानकारी अनुसार साउन २८ गते बस्ने केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत गरिने नयाँ कार्यतालिको ड्राफ्ट तयार भइरहेको बताइन्छ । महाधिवेशन सार्न सभापति देउवा र महामन्त्री कोइराला सहमत भएका छन ।
नयाँ क्रियाशील सदस्यता र पार्टी समायोजनका विषयमा देखिएको विवाद समाधान गर्ने गरी मंसिरसम्म महाधिवेशन सार्न उपयुक्त हुने दुवैको प्रस्ताव छ । गत शुक्रबार साँझ देउवालाई भेट्न बालुवाटार पुगेका काँग्रेस युवा नेताहरुसँग सभापति देउवाले पनि महाधिवेशन सार्ने संकेत गरेका थिए ।
संस्थापनइतर पक्षले भने समयमा महाधिवेशन गर्न सभापति देउवालाई दवाव दिनको लागि जिल्ला सभापतिहरुको भेलाको तयारी थालेको छ । यही हप्तामा भेला आयोजना गरेर आफनो समुहको धारणा सार्वजनिक गर्ने र संस्थापन समुहलाई दवाव दिन लागेको पौडेल समुहका एक नेताले जानकारी दिएका छन ।