एमालेका लुम्बिनी प्रदेशसभा सदस्य डाँगीद्वारा राजीनामा
बुटवल । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य अमरबहादुर डाँगी क्षेत्रीले राजीनामा दिएका छन् । दाङ २ (ख) बाट प्रत्यक्ष निर्वाचित डाँगीले आज प्रदेशसभाका सभामुखलाई राजीनामा पत्र बुझाएका हुन् ।
वैशाख १९ गते एमाले संसदीय दलको बैठकमा अनुपस्थित डाँगीले राजीनामा पत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीका साथै प्रदेश सरकारप्रति असन्तुष्टि जनाएका छन् ।
प्रधानमन्त्री ओलीले संसद विघटन गरेर दुई तिहाइ बहुमतको बर्खिलाप, कम्युनिष्ट आन्दोलन र लोकतान्त्रिक प्रणालीलाई नै तहसनहस पारेको, संविधान, विधि र प्रक्रियाको चीरहरण गरेको र मुलुकलाई अस्थिरतातर्फ धकेलेको आरोप उनले लगाएका छन् । तर उनले राजीनामा पत्रमा भने उच्च रक्तचापको बिरामी भएकाले राजनीतिक खिचातानीबाट मुक्त भई आराम गर्न चाहेको उल्लेख गरेका छन् ।
आइतबार बिहान मुख्यमन्त्रीबाट राजीनामा दिएका शंकर पोखरेलले एकल बहुमतको सरकारमा दाबी गरेपछि एमालेका सांसदहरुले विद्रोह गरेका थिए । एमालेकै प्रदेशसभा सदस्य दृगनारायण पाण्डेले राजीनामा दिएका थिए भने तत्कालीन नेकपाबाट प्रदेशसभामा निर्वाचित विमला वलीले माओवादी केन्द्र रोजेकी थिइन् ।
सूर्य चुनाव चिह्नबाट चुनाव लडेका स्वतन्त्र राजनीतिक समूहका धर्मबहादुर लाल श्रीवास्तव र अजय शाही पनि नयाँ सरकार गठनको पक्षमा उभिएका थिए । तर श्रीवास्तव र शाही पोखरेलको पक्षमा फर्किएका थिए । श्रीवास्तव मन्त्री समेत भइसकेका छन् ।
