महाकाली नदी पहिरोले थुनियो, सजग रहन प्रशासनको आग्रह

काठमाडौं । दार्चुलाको माल्पा भन्ने स्थानमा पहिरो खसेर महाकाली नदी थुनिएको बताइएको छ । नदी थुनिएर ताल बनेका कारण कुनै पनि बेला फुट्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सूचना प्रकाशित गरी सम्बन्धित क्षेत्रका बासिन्दालाई सजग हुन सचेत गराएको छ ।
प्रशासनले जारी गरेको सूचनामा भनिएको छ, ‘दार्चुलाको माल्पा भन्ने ठाउँमा ठूलो पहिरोको कारण महाकाली नदी थुनिन गएकोले कुनैपनि बेला नदीमा जम्मा भएको पानी फुट्न सक्ने सम्भावना रहेको भन्ने जानकारी हुन आएकोले महाकाली नदी नजिक वस्ती भएका र सो क्षेत्रमा काम गर्ने सबैलाई सचेत रही आवश्यक सतर्कता अपनाउन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको ब्यहोरा अनुरोध छ।’