नेकपा (प्रचण्ड–नेपाल) समूहद्वारा पार्टीको आधिकारिकता दाबी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोग पुगेर आफ्नो पक्षमा बहुमत केन्द्रीय सदस्य रहेको बताउँदै पार्टी आधिकारिकताको दाबी पेश गरेको छ ।
सो पार्टीका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाल, वरिष्ठ नेता झलनाथ खनाललगायतका नेताहरु आयोग पुगेर आधिकारिता दाबी पेश गरेका हुन् ।
प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले राजनीतिक दलसम्बन्धी दफाअनुसार आफूहरु नै नेकपाको आधिकारिक पार्टी भएको निर्वाचन आयोगमा दाबी गरेको छ।
सो समूहले दल विभाजन भएको र सोको निरुपणका लागि राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ४३ र ४४ अनुसार आधिकारिकता दावी गरेको बताएका छन् ।
सो समूहले सोमबार आकस्मिक रुपमा बोलाइएको केन्द्रीय कमिटी बैठकमा उपस्थित रहेका २ सय ७५ जना नेताहरुको उपस्थितिको विवरण पनि निर्वाचन आयोगमा बुझाएको छ।
अध्यक्ष द्वयसहितको टोलीले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग भेट गर्दै नेकपाभित्रको विवाद निरुपण गरेर मात्रै निर्वाचनका कार्यक्रम अघि बढाउन आग्रह गरेको छ।
नेकपाले निर्वाचन आयोगमा मुख्य गरेर तीन वटा विषय उठाएको स्थायी समिति सदस्य राजेन्द्र पाण्डेले बताएका छन्। पाण्डेले निर्वाचन आयोगले नेकपाको पुस ७ र ९ को निर्णयलाई मान्यता नदिएको, अध्यक्ष ओली र महासचिवलाई गरिएको कारबाहीलाई मान्यता नदिएको र दुई एकता गर्दाका बेला ओलीलाई पहिलो र प्रचण्डलाई दोस्रो अध्यक्ष नभनिएको कुरालाई मुख्यगरी उठाएको छ ।