राष्ट्रिय कर दिवसमा उत्कृष्ट करदाता सम्मानित
काठमाडौं । राष्ट्रिय कर दिवसको अवसरमा सरकारले विभिन्न १९ विधामा उत्कृष्ट करदातालाई सम्मान गरेको छ। मंगलबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उत्कृष्ट करदातालाई सम्मान गरेका हुन्।
यस वर्ष सरकारले भाटभटेनी सुपरमार्केटलाई विशेष सम्मान प्रदान गरेको छ। प्रतिकूल परिस्थितिका बाबजुद व्यवसायलाई निरन्तरता दिँदै राजस्व योगदान र रोजगारी सिर्जनामा महत्वपूर्ण भूमिका खेलेको भन्दै कम्पनीलाई सम्मान गरिएको हो।
२०८२ भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भाटभटेनीका १२ वटा स्टोरमा आगजनी, लुटपाट र तोडफोड हुँदा अर्बौं रुपैयाँको क्षति भएको थियो। ठूलो क्षति बेहोर्नुपरे पनि कुनै कर्मचारीको रोजगारी नखोसी पुनः लगानी गरेर कम्पनीले अधिकांश स्टोर सञ्चालनमा ल्याएको थियो।
राष्ट्रिय कर दिवसका अवसरमा व्यक्तिगत आयतर्फ सबैभन्दा बढी आयकर तिर्ने करदाताका रूपमा राजबहादुर शाह सम्मानित भएका छन्। संस्थागततर्फ सबैभन्दा बढी आयकर तिर्ने कम्पनीका रूपमा सूर्य नेपाल प्रालि सम्मानित भएको छ।
सरकारले विभिन्न क्षेत्रका उत्कृष्ट करदातालाई पनि सम्मान गरेको छ। सम्मानित हुने अन्य संस्थामा एकलौटी फर्मतर्फ थर्ड आई इन्टरनेसनल, वस्तु निर्याततर्फ डाबर नेपाल प्रालि, सूचना प्रविधि सेवा निर्याततर्फ इनफाइनाइट र बैंकिङ क्षेत्रतर्फ नबिल बैंक रहेका छन्।
त्यस्तै, शिक्षा तथा स्वास्थ्य क्षेत्रबाट नोबेल मेडिकल कलेज, पर्यटन क्षेत्रबाट सोल्टी होटल र वस्तु व्यापारतर्फ सीजी इम्पेक्स प्रालि सम्मानित भएका छन्।
हरेक वर्ष मंसिर १ गते राष्ट्रिय कर दिवस मनाइन्छ। यस अवसरमा सरकारले कर प्रणालीमा योगदान पुर्याउने विभिन्न क्षेत्रका उत्कृष्ट करदातालाई सम्मान गर्दै आएको छ।
