आन्दोलनका लागि तयार रहन नेता–कार्यकर्तालाई ओलीको निर्देशन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै नेता तथा कार्यकर्तालाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन्।

मंगलबार काठमाडौंमा आयोजित अखिल नेपाल किसान महासंघ केन्द्रीय कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै ओलीले जुनसुकै बेला आन्दोलन गर्नुपर्ने परिस्थिति आउन सक्ने भएकाले मानसिक रूपमा तयार रहन आग्रह गरेका हुन्।

आन्दोलनका लागि सधैँ लामो तयारी आवश्यक नपर्ने उल्लेख गर्दै उनले असह्य अवस्था सिर्जना भएपछि तत्काल आन्दोलन सुरु हुन सक्ने बताए।

आतंकपूर्ण वातावरण र गतिविधिका कारण पार्टी केही पछाडि धकेलिएको भए पनि त्यस्तो अवस्था सधैँ कायम नरहने ओलीको भनाइ थियो। आत्मविश्वास र मनोबलका साथ अघि बढ्न उनले नेता–कार्यकर्तालाई आग्रह गरे।

ओलीले चुनावमार्फत पार्टी निर्माण गर्न खोज्नेहरूलाई आगामी निर्वाचनमा पार्टीको शक्तिका आधारमा पराजित गर्ने गरी तयारीमा जुट्नुपर्ने बताए।

यसैबीच, उनले सर्वोच्च अदालतको व्याख्या र आदेशप्रति पनि असन्तुष्टि व्यक्त गरे। अघिपछि छिटो फैसला गर्ने अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा भने लामो समयसम्म निर्णय नगरेको उनको आरोप थियो।

समयमै न्याय नपाउनु र ढिलो न्याय पाउनु उस्तै भएको टिप्पणी गर्दै ओलीले अदालतका विषयमा धेरै बोल्दा आफूमाथि मानहानिको मुद्दा थपिन सक्ने भन्दै थप टिप्पणी गर्न चाहेनन्।

उनले आगामी दिनमा जनताको घरदैलोमा पुग्न, किसान तथा सर्वसाधारणसँग संवाद गर्न र पार्टीलाई थप सशक्त बनाउन पनि नेता–कार्यकर्तालाई निर्देशन दिए। एमालेले आफूलाई देशको निर्णायक राजनीतिक तथा लोकतान्त्रिक शक्तिका रूपमा स्थापित गर्ने गरी गतिविधि अघि बढाउनुपर्ने उनको भनाइ थियो।