सातै प्रदेशका अधिवेशनमा सहभागी हुँदै देउवा

काठमाडौं । नेपाली कांग्रेसका १४ औं महाधिवेशनबाट निर्वाचित सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको सातै प्रदेशमा हुने अधिवेशनमा सहभागी हुने भएका छन्।

देउवा पक्षले १५औँ महाधिवेशनको तयारीस्वरूप मंसिर ५ गतेदेखि प्रदेश अधिवेशन सुरु गर्न लागेको हो। अधिवेशनका क्रममा देउवा सातै प्रदेशमा पुग्ने कार्यक्रम रहेको जनाइएको छ।

देउवा पक्षको १५औँ महाधिवेशन तयारी समितिको सचिवालयका संयोजक दीपक कुइँकेलले प्रदेश अधिवेशनको तयारी भइरहेको जानकारी दिँदै सबै प्रदेशका अधिवेशनमा देउवा सहभागी हुने बताए।

यसअघि देउवा पक्षले स्थानीय तह र जिल्ला अधिवेशन सम्पन्न गरिसकेको छ। पक्षले हालसम्म ४६ जिल्लामा जिल्ला अधिवेशन र १४० वटा निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न भएको जनाएको छ।

प्रदेश अधिवेशनपछि देउवा पक्षले महाधिवेशन गर्ने तयारी गरेको छ। महाधिवेशन मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा आयोजना गर्ने तय भएको छ।