भीमफेदी माइक्रोबस दुर्घटना अपडेट : १० जनाको मृत्यु, ५ घाइते
काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा माइक्रोबस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
मकवानपुर प्रहरीका अनुसार मृत्यु हुनेमा पाँच पुरुष, तीन महिला र दुई बालिका रहेका छन्। घाइते हुनेमा तीन पुरुष र दुई बालक छन्।
बिहीबार बिहान करिब ६ः१० बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको माइक्रोबस सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटनामा परेको हो। प्रारम्भिक अनुमानअनुसार दुर्घटनाका बेला माइक्रोबसमा १५ जना सवार थिए।
दुर्घटनापछि सशस्त्र प्रहरी बलको सुरक्षा बेस भीमफेदीबाट प्रहरी नायब उपरीक्षकको कमाण्डमा उद्धार टोली परिचालन गरिएको थियो। नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले पनि उद्धार कार्य गरेको छ।
घाइतेमध्ये तीन जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
