भीमफेदीमा माइक्रोबस दुर्घटना : १० जना गम्भीर घाइते, अन्यको खोजी जारी

काठमाडौं । मकवानपुरको भीमफेदीमा माइक्रोबस दुर्घटना हुँदा १० जना गम्भीर घाइते भएका छन्। दुर्घटनामा परेका अन्य यात्रुको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको माइक्रोबस आज बिहान करिब पौने ६ बजे काठमाडौं–कुलेखानी–भीमफेदी सडकखण्डअन्तर्गत भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीनजिक दुर्घटनामा परेको हो।

प्रहरीका अनुसार माइक्रोबस सडकबाट करिब ५०० मिटर तल खसेको छ। घटनास्थलमा रहेका प्रहरी सहायक निरीक्षक (सई) दीपेन्द्र ढकालले दुर्घटनामा १० जना गम्भीर घाइते भएको र अन्य यात्रुको खोजी भइरहेको जानकारी दिए।

भीरमा माइक्रोबस खसेका कारण खोजी तथा उद्धार कार्यमा कठिनाइ भइरहेको उनले बताए।

घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको टोलीले उद्धार कार्य जारी राखेको छ।

दुर्घटनामा परेको माइक्रोबसको नम्बर खुल्न सकेको छैन। उक्त माइक्रोबसमा करिब १३ देखि १४ जना यात्रु सवार रहेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।