भीमफेदी ईभी दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुग्यो, सबैको पहिचान खुल्यो

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा भएको यात्रुवाहक विद्युतीय हाइस (ईभी) दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ। दुर्घटनामा मृत्यु भएका सबैको पहिचान खुलेको प्रहरीले जनाएको छ। दुर्घटनामा अन्य ६ जना घाइते भएका छन्।

प्रहरीका अनुसार मृतकमा पाँच महिला तथा बालबालिका र नौ पुरुष रहेका छन्। यसअघि ११ जनाको पहिचान खुलेकोमा थप तीन जनाको सनाखत भएसँगै मृतक सबैको पहिचान खुलेको हो।

मृत्यु हुनेमा सर्लाहीको कबिलासी गाउँपालिका–८ का ३० वर्षीय हाइस चालक रविशंकर कुमार मण्डलसहित सर्लाहीकै चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका १३ जना रहेका छन्।

यसअघि पहिचान खुलेका मृतकमा २६ वर्षीय बिकेश यादव, ३५ वर्षीया पुनम यादव, सात वर्षीया दिक्षा यादव, पाँच वर्षीया दिपिका यादव, १० वर्षीया अनु कुमारी यादव, ३५–३६ वर्षीय गुड्डु यादव, ३०–३२ वर्षीया गायत्री देवी, २५–२६ वर्षीय रामदुलार यादव, २४–२५ वर्षीय सुबोध यादव र १५ वर्षीय रोहन यादव रहेका छन्।

दुर्घटनामा घाइते हुनेमा ३३ वर्षीय मुकेश यादव, पाँच वर्षीय सक्षम कुमार यादव, तीन वर्षीय सुजन यादव, ३१ वर्षीय बेचु भनिने देवेन्द्र राय, २६ वर्षीय देवेन्द्र राय र १४ महिनाका सुदिप यादव रहेका छन्।

घाइतेमध्ये मुकेश यादव, सक्षम कुमार यादव र २६ वर्षीय देवेन्द्र राय उपचारपछि डिस्चार्ज भएका छन्। तीन वर्षीय सुजन यादव र १४ महिनाका सुदिप यादवलाई थप उपचारका लागि काठमाडौंस्थित मेडिसिटी अस्पताल तथा ३१ वर्षीय देवेन्द्र रायलाई भरतपुरस्थित मनकामना अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ।

काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको ईभी हाइस बिहीबार बिहान करिब ५ः४५ बजे भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत चिसापानीगढीमा दुर्घटनामा परेको थियो। अनियन्त्रित भएर सडकबाट करिब ५०० मिटर तल खस्दा हाइसमा सवार यात्रुहरूको मृत्यु भएको हो।

दुर्घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली उद्धारमा खटिएको थियो।