कास्कीको दुण्डेफाँटमा जिप दुर्घटना : एक जनाको मृत्यु, १२ घाइते

काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–२३ स्थित दुण्डेफाँटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।

घाँटीछिनाबाट पोखरातर्फ आउँदै गरेको ग ४ च १३४४ नम्बरको जिप बुधबार राति पौने १० बजेतिर अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका सबैलाई उद्धार गरी उपचारका लागि जीएमसी अस्पताल पुर्‍याइएको थियो। उपचारका क्रममा पर्वत घर भई हाल पोखरा महानगरपालिका–२४ पामे बस्ने २३ वर्षीय मिलन गुरुङको बिहीबार बिहान पौने ३ बजे मृत्यु भएको कास्कीका प्रहरी निरीक्षक रामजी देवकोटाले जानकारी दिए।

दुर्घटनामा घाइते हुनेमा घाँटीछिनाका १५ वर्षीय विवेक बिक, चैनपुरका १६ वर्षीय विवस पराजुली, पोखरा–२३ का १४ वर्षीय अमित सुनार, १८ वर्षीया अनिशा नेपाली, १२ वर्षीय उज्ज्वल सुनार, ११ वर्षीय निशान नेपाली, १४ वर्षीय सन्देश नेपाली, २० वर्षीया मुस्कान गुरुङ, १२ वर्षीय आसिस सुनार, १३ वर्षीय सन्जल सुनार, १९ वर्षीया निसा नेपाली र २० वर्षीय दिपिन खत्री रहेका छन्।

घाइतेहरूको जीएमसी अस्पतालमा उपचार भइरहेको छ।