शान्ति–सुरक्षाबारे सुरक्षा निकायका प्रमुखसँग प्रधानमन्त्री शाहले लिए ब्रिफिङ

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको पछिल्लो शान्ति–सुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज प्रधान सेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक डा. मनोजकुमार केसी र सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेललाई बोलाएर उनले चाडपर्वका बेला नागरिकको सुरक्षा तथा समग्र शान्ति–सुरक्षा व्यवस्थापनबारे जानकारी लिएका हुन्।

प्रधानमन्त्री कार्यालयले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार प्रधानमन्त्री शाहले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीच आपसी समन्वय, सूचना आदानप्रदान र सहकार्यलाई थप प्रभावकारी बनाउन निर्देशन दिएका छन्।

उनले नागरिकको जीउधनको सुरक्षामा कुनै कमजोरी हुन नदिन, अपराध नियन्त्रणमा शून्य सहनशीलताको नीति अपनाउन तथा शान्ति–सुरक्षाको व्यवस्था चुस्तदुरुस्त बनाउन पनि सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन्।