बालेन्द्र नेतृत्वको सरकारको ६ महिने कार्यशैलीप्रति एमालेको तीव्र असन्तुष्टि

काठमाडौं । नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको ६ महिने कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाउँदै सरकारको यात्रा ‘फासीवादी मार्ग’तर्फ अग्रसर भएको आरोप लगाएका छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै बादलले पूर्वप्रधानमन्त्रीको गिरफ्तारीदेखि पछिल्ला राजनीतिक घटनाक्रमसम्मका गतिविधिलाई आधार बनाउँदै सरकारको कार्यशैलीप्रति प्रश्न उठाए।

उनले विश्व अहिले संक्रमणकालीन उथलपुथलको अवस्थाबाट गुज्रिरहेको र एआई तथा अल्गोरिदमको युगमा प्रवेश गरेको बताए। पुरानो विश्व व्यवस्थाको केन्द्र पश्चिमबाट पूर्वतर्फ सर्दै गएको तथा विश्वव्यापी ‘रुल सेटिङ’ नयाँ नेतृत्वतर्फ हस्तान्तरण हुने प्रक्रियामा रहेको उनको भनाइ थियो।

‘पुरानो संरचना तथा आधार भत्किँदै गएको छ। नयाँ पूर्णतः निर्माण भइसकेको छैन,’ उनले भने।

बादलले विश्व व्यवस्थाको पुनर्गठनका क्रममा सैन्य हस्तक्षेप, आक्रमण, कठपुतली सरकार गठन, नागरिक अधिकारको हनन, राज्य आतंक, लोकतान्त्रिक तथा देशभक्त शक्तिमाथि दमन, न्यायपालिका र व्यवस्थापिकामाथि हस्तक्षेप तथा स्रोतसाधनमाथि कब्जाजस्ता गतिविधि भइरहेको दाबी गरे।

नेपालमा गत भदौ २३–२४ गते भएको हिंसात्मक घटनाक्रम, सरकार परिवर्तन र प्रतिनिधिसभा विघटनलाई उनले नयाँ विश्व व्यवस्था पुनर्गठनको ‘नेपाल संस्करण’का रूपमा व्याख्या गरे। उनले एमालेले त्यतिबेलै असंवैधानिक सत्ता परिवर्तनको विरोध गरेको र घटनाका दोषीमाथि कारबाही तथा विघटित प्रतिनिधिसभाको पुनःस्थापनाको माग गरेको बताए।

फागुनमा भएको निर्वाचनलाई भदौ २३–२४ को घटनाक्रमको ‘बाइप्रडक्ट’ भएको टिप्पणी गर्दै उनले निर्वाचनमा भएको पराजयलाई एमालेले स्वीकार गरेको बताए।

‘पराजयको स्वीकारोक्ति आत्मसमर्पण कदापि होइन। हामीले यसलाई गम्भीर शिक्षा तथा भावी विजयका लागि सुनौलो अवसरका रूपमा आत्मसात् गरेका छौँ,’ उनले भने।

सरकार गठन भएको ६ महिनामा प्रतिनिधिसभा सत्तापक्ष सरकारको ‘प्रतिछाया’ मात्र बनेको बादलको आरोप थियो। सत्तापक्षले प्रतिपक्षलाई पूरक नभई बाधकका रूपमा हेरेको र विधेयक निर्माणमा प्रतिपक्षका सुझाव तथा संशोधनलाई पर्याप्त स्थान नदिएको उनले बताए।

‘विधि निर्माण उसले आफ्नो एकाधिकार ठान्यो। यो छ महिनाको अधिकांश समय सत्तापक्षको ढ्यापढ्याप सुन्यौँ, प्रतिपक्षको आक्रोश देख्यौँ,’ उनले भने।

सभामुखको भूमिकामाथि समेत प्रश्न उठाउँदै बादलले राजनीतिक सहमति निर्माणमा सभामुखले पर्याप्त पहल गर्न नसकेको बताए। यद्यपि पछिल्लो समय सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गर्न खोज्नु र सत्तापक्षका केही सांसदले सरकारको कार्यशैलीमाथि प्रश्न उठाउनु सकारात्मक संकेत भएको उनले उल्लेख गरे।

गत भदौ १० को महाविपत्तिपछि रास्वपा सभापतिले सर्वपक्षीय संयन्त्र निर्माणका लागि गरेको पहलको स्वागत गर्दै बादलले संसदीय विशेष समितिमा राष्ट्रिय सभालाई समावेश नगरिनु त्रुटिपूर्ण भएको बताए।

उनले सरकारको कार्यशैली र पछिल्ला राजनीतिक घटनाक्रमबारे आफ्नो पार्टीको अडान स्पष्ट रहेको पनि बताए।