दोधारा–चाँदनीको झोलुङ्गे पुल बीचबाट चुँडियो, आवतजावत ठप्प

कञ्चनपुर । कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त नगरपालिकालाई जोड्ने झोलुङ्गे पुल महाकाली नदीको बाढीका कारण बुधबार बिहान बीचबाट चुँडिएको छ।

महाकाली नदीमा आएको बाढीले बिहान करिब ८ बजे पुलको पिलर भत्काएपछि पुलको एक भाग नदीमा खसेर बगेको हो। पिलर भत्किनुअघि दोधारा–चाँदनी नगरपालिका–४ तर्फको पुलको करिब ५–६ मिटर भाग माथि उठेपछि आवतजावतमा समस्या भएको थियो।

त्यसपछि नदीको बीच भागमा रहेको पिलर भत्किएर पुलको संरचना नै चुँडिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। प्रहरीका अनुसार भीमदत्त नगरपालिका–१३ तर्फबाट छैटौँ नम्बरको र दोधारा–चाँदनीतर्फबाट तेस्रो नम्बरको पिलरमा क्षति पुगेको छ।

पुल चुँडिएपछि उक्त मार्गमा आवतजावत पूर्ण रूपमा ठप्प भएको छ। यो झोलुङ्गे पुलले दोधारा–चाँदनीलाई सदरमुकाम महेन्द्रनगरसँग जोड्दै आएको थियो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेक रावतले पिलर भत्किएपछि पुल चुँडिएको जानकारी दिए। प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखसहितको टोली घटनास्थलतर्फ गएको उनले बताए।

सुदूरपश्चिम प्रदेशको यातायात पूर्वाधार निर्देशनालयले पुलमा पुगेको क्षतिको अध्ययनका लागि प्राविधिक टोली पठाउने तयारी गरेको छ।

वर्षौँअघि निर्माण भएको उक्त झोलुङ्गे पुल जीर्ण अवस्थामा थियो। महाकालीमा पछिल्लो समय पक्की पुल निर्माण भइसकेकाले स्थानीयले झोलुङ्गे पुलको तुलनामा पक्की पुलबाट बढी आवतजावत गर्दै आएका छन्।