चार दिनपछि बीपी राजमार्गमा साना गाडी चल्न थाले
काठमाडौं । अविरल वर्षापछि आएको बाढीपहिरोका कारण चार दिनदेखि अवरुद्ध बीपी राजमार्गमा मंगलबार बिहानदेखि आंशिक रूपमा सवारीसाधन सञ्चालनमा आएका छन्।
बाढीले बगाएका स्थानमा अस्थायी ‘डाइभर्सन’ निर्माण गर्नुका साथै विभिन्न खण्डमा खसेको पहिरो पन्छाएपछि साना सवारीसाधन सञ्चालनमा ल्याइएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।
डिभिजन प्रमुख सुमन योगेशका अनुसार रोशी क्षेत्रको चौकीडाँडामा खोलाको बहाव उच्च रहेकाले किनारमा तत्काल डाइभर्सन बनाउन नसकिएपछि खानेपानी पम्प हाउस रहेको भित्री ट्र्याकबाट सवारी आवागमन सुरु गरिएको हो।
खोलाको बहाव घटेपछि चौकीडाँडामा किनारबाटै पुनः अस्थायी डाइभर्सन निर्माण गरिने उनले बताए।
रोशी खोलामा आएको बाढीले चौकीडाँडा, कटुञ्जे, पिप्ले र माम्ती क्षेत्रमा बनाइएका अस्थायी डाइभर्सन बगाएको थियो। यस्तै, दाउन्ने–कालोपुल र चारसयबेँसी क्षेत्रमा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो।
हाल जोखिमयुक्त स्थानमा एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ। ती स्थानमा पनि छिट्टै दुईतर्फी सवारी सञ्चालन गर्ने गरी सडक खुलाउने काम भइरहेको कार्यालयले जनाएको छ।
सडक खुलाउन डिभिजन सडक कार्यालयले सोमबार बिहानदेखि अस्थायी डाइभर्सन निर्माण तथा विभिन्न खण्डमा खसेको पहिरो पन्छाउने काम थालेको थियो।
