आजको मन्त्रिपरिषद्का मुख्य ६ निर्णय

दुई सहसचिव सचिवमा बढुवा, निजामती सेवा विधेयक संसदमा लैजाने

काठमाडौं । सरकारले दुई सहसचिवलाई सचिवमा बढुवा गर्नुका साथै संघीय निजामती सेवासम्बन्धी विधेयक संघीय संसदमा पेश गर्ने निर्णय गरेको छ।

मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णय सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले सार्वजनिक गरेका हुन्।

बैठकले प्रशासन सेवातर्फकी सहसचिव आभा श्रेष्ठ कर्णलाई सचिवमा बढुवा गरी गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदस्थापन गर्ने निर्णय गरेको छ।

त्यस्तै, नेपाल इन्जिनियरिङ सेवातर्फका वरिष्ठ सहसचिव डा. जगदीश्वर कर्माचार्यलाई सचिवमा बढुवा गरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सचिवमा पदस्थापन गर्ने निर्णय भएको छ।

सचिव बढुवा सिफारिस समितिले प्राविधिकतर्फ रिक्त सचिव पदका लागि डा. कर्माचार्यसहित नवीनराज सिंह र मीना श्रेष्ठको नाम सिफारिस गरेको थियो। सिफारिसमध्ये वरिष्ठताका आधारमा कर्माचार्यलाई सचिवमा बढुवा गर्ने निर्णय भएको हो।

कर्माचार्य यसअघि पनि ऊर्जा मन्त्रालयमै कार्यरत थिए। तत्कालीन ऊर्जा सचिव सरिता दवाडीलाई नेपाल ट्रस्टको कार्यालयमा सरुवा गरेपछि मन्त्रालयको सचिव पद रिक्त थियो।

यस्तै, मन्त्रिपरिषद्ले संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावअनुसार विधेयक संसदमा पेश गर्ने निर्णय भएको मन्त्री पोखरेलले जानकारी दिए।

आजको बैठकले ६ वटा मुख्य निर्णयहरू

१.अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने २०.७ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने ।

२.पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको कमला–ढल्केवर–पथलैया सडक खण्ड, गर्जाङ खोला साना जलविद्युत आयोजना, बलेफी खोला जलविद्युत आयोजना र सशस्त्र प्रहरी बल नेपाललाई तालिम शिक्षालय, गुल्महरू तथा सीमा सुरक्षा पोस्ट निर्माण गर्न राष्ट्रिय वन क्षेत्र उपयोग गर्न स्वीकृति प्रदान गर्ने ।

३.पशु बधशाला र मासु जाँच ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने।

४. संघीय निजामती सेवा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय सदन समक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने।

५.अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने।

६.नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्रांकित विशिष्ट श्रेणीको पदमा सहसचिव आभास श्रेष्ठ कर्णलाई बढुवा गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशको प्रमुख सचिव पदमा, र नेपाल इन्जिनियरिङ सेवा समूहीकरणतर्फको राजपत्रांकित विशिष्ट श्रेणीको पदमा डाक्टर जगदीश्वर कर्माचार्यलाई बढुवा गरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सचिव पदमा पदस्थापन गर्ने ।