पुनर्गठनको बहसले पार्टीभित्र अस्वस्थ अवस्था सिर्जना गर्यो : प्रदीप ज्ञवाली
काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले निर्वाचनमा पार्टीले बेहोरेको धक्कालाई सामूहिक चुनौती र जिम्मेवारीका रूपमा लिएर जनतामा आशा र भरोसा बढाउनुपर्नेमा पार्टीभित्र अस्वस्थ अवस्था सिर्जना भएको बताएका छन्।
एमाले केन्द्रीय कमिटी बैठकमा बोल्दै ज्ञवालीले पार्टी पुनर्गठनको बहस तलसम्म पुग्दा आन्तरिक ध्रुवीकरण बढेको बताए। पार्टीका नियमित गतिविधिसमेत प्रभावित हुने गरी कार्यकर्ताबीच कित्ताकाटको अवस्था सिर्जना भएको उनको भनाइ छ।
‘आजका सम्पूर्ण समस्याको कारक पार्टी अध्यक्ष हो र उहाँलाई विस्थापन नगर्दासम्म पार्टी अगाडि बढ्दैन भन्ने तर्क गर्ने, पार्टीका नियमित कामलाई समेत अवरुद्ध गर्ने र पार्टीभित्र तलैसम्म कित्ताकाट गर्दै अस्वस्थता सिर्जना गर्ने स्थिति उत्पन्न भयो,’ उनले भने।
पुनर्गठनको बहसलाई पार्टी विभाजनको बहसका रूपमा बुझ्ने अवस्था सिर्जना भएको उल्लेख गर्दै उनले कार्यदलको प्रतिवेदनलाई आधार बनाएर पार्टीलाई एकताबद्ध बनाउनेतर्फ अघि बढ्नुपर्ने बताए।
उनले पार्टीलाई एकताबद्ध बनाउने पहलको नेतृत्व अध्यक्ष केपी शर्मा ओलीले गर्नुपर्ने धारणा राखे। ‘पार्टीको आन्तरिक लडाइँमा जित्नुपर्ने अब कुनै लडाइँ बाँकी छैन,’ उनले भने, ‘अब ध्यान योजनाबद्ध नेतृत्व विकासमा केन्द्रित हुनु जरुरी छ।’
पार्टीको मुख्य नेता र अभिभावकका रूपमा अध्यक्षको भूमिका, व्यवहार र अभ्यासले भावनात्मक एकता कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने उनले बताए।
ज्ञवालीले एमालेले निर्वाचनमा धक्का बेहोर्नुको एउटा कारण पार्टीको आन्तरिक एकता कमजोर हुनु र जनतासँगको सम्बन्ध पातलिनु रहेको बताए।
‘प्रतिस्पर्धालाई निषेध गर्न सकिँदैन, तर त्यसलाई स्वस्थ कसरी बनाउने र प्रतिस्पर्धापछि पुनः बलियो एकतामा कसरी रूपान्तरण गर्ने ? नयाँ विधि खोज्नै पर्ने भएको छ,’ उनले भने, ‘यसका लागि नेतृत्वको निष्पक्ष र अभिभावकीय भूमिका आवश्यक छ।’
‘सबैभन्दा धेरै अवसर पाएकाहरू नै असन्तुष्ट’
ज्ञवालीले पार्टीमा सबैभन्दा धेरै अवसर पाएका नेताहरू नै असन्तुष्ट देखिएको टिप्पणी पनि गरे।
‘तिनीहरू नै सबैभन्दा असन्तुष्ट देखिने कारण के हो—अवसर प्राप्ति नै राजनीतिको मुख्य विषय हो भन्ने सन्देश सम्प्रेषित भएर हो कि अवसर दिँदा सही मूल्याङ्कन नभएर हो ?’ उनले प्रश्न गरे।
‘मलाई छद्म रूपमा प्रतिवेदन लेख्नुपर्ने आवश्यकता छैन’
पार्टी पुनर्गठनसम्बन्धी कार्यदलको चर्चाका क्रममा आफ्नो नाममा छुट्टै प्रतिवेदन रहेको भन्ने विषय उठेपछि ज्ञवालीले त्यसको खण्डन गरेका छन्।
‘प्रदीप ज्ञवालीको कुनै छुट्टै प्रतिवेदन छैन। कमरेडहरूलाई थाहै होला, म लेख्छु। दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन्, हजारभन्दा बढी लेख पत्रिकामा छापिएका छन् र अन्तर्राष्ट्रिय फोरममा प्रस्तुत गरिएका २०औँ पेपर छन्। त्यसैले मलाई छद्म रूपमा लेख्नुपर्ने आवश्यकता छैन,’ उनले भने।
पार्टीभित्र समस्या उत्पन्न हुँदा समन्वयको भूमिकामा उभिनु गलत नभएको उनको भनाइ छ। पार्टीभित्र ध्रुवीकरण चर्किएका बेला कुनै एउटा पक्षमा उभिएर अतिवादी धारणा राख्दा सञ्चारमाध्यममा चर्चा पाउन सकिने भए पनि त्यसबाट समस्या समाधान नहुने उनले बताए।
‘पार्टीभित्रका समस्या समाधानमा हरेक कमरेडले योगदान गर्छ,’ उनले भने।
ज्ञवालीले पार्टीभित्रका कतिपय विषयलाई पूर्वप्रक्षेपण गर्दै सञ्चारमाध्यममा बहस गराउने, आफ्ना असहमतिलाई विरोधको तहमा पुर्याउने र सामाजिक सञ्जालमा प्रचार गर्ने प्रवृत्ति बढेको बताए।
यस्तो प्रवृत्तिले क्षणिक रूपमा चर्चा र सन्तुष्टि दिए पनि त्यसबाट दीर्घकालीन राजनीतिक नेतृत्व निर्माण नहुने उनको भनाइ छ।
