ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो : ‘प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड’

काठमाडौं । देशभर खाना पकाउने एलपी ग्यासको अभाव चर्किरहेका बेला ग्यास विक्रेता महासंघ नेपालले उद्योग तथा विभिन्न नामका बिक्री केन्द्रबाट भइरहेको प्रत्यक्ष बिक्री तत्काल रोक्न सरकारसँग माग गरेको छ।

महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले प्रभावकारी वितरण प्रणालीका रूपमा रहेको विक्रेता तथा डिलरलाई पन्छाएर उद्योग र विभिन्न बिक्री केन्द्रमार्फत ग्यास बिक्री गर्ने सरकारी निर्णयले अभाव झन् जटिल बनेको र उपभोक्ताले अनावश्यक सास्ती खेप्नुपरेको बताएका छन्।

उनका अनुसार एकातिर विक्रेतालाई पर्याप्त ग्यास उपलब्ध नगराउने र अर्कोतर्फ अनुगमनका नाममा विक्रेतालाई दुःख दिने सरकारी रवैयाका कारण बजार वितरण प्रणाली नै भद्रगोल बनेको छ।

महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सरकार, उद्योग र बिक्री केन्द्रका नामबाट आफैं ग्यास बिक्री गर्ने, अनि अनुगमनका नाममा आम विक्रेतालाई अनावश्यक दुःख दिने सरकारी रवैयाप्रति ग्यास विक्रेता महासंघ घोर आपत्ति प्रकट गर्दछ।’

महासंघले उद्योग तथा विभिन्न नाममा सञ्चालित बिक्री केन्द्रबाट भइरहेको प्रत्यक्ष बिक्री बन्द गरी विक्रेतामार्फत मात्रै ग्यासको वितरण सहज बनाउन सरकारको ध्यानाकर्षण गराएको छ।

डिलरमार्फत व्यवस्थित रूपमा ग्यास वितरण गरेमा मात्र उपभोक्ताले भोग्दै आएको सास्ती अन्त्य हुने र बजारमा देखिएको वास्तविक समस्या समाधान हुने महासंघको दाबी छ।

महासंघले पछिल्लो चार महिनामा करिब ६० हजार टन एलपी ग्यास कम आयात भएको तथ्यांकसमेत सार्वजनिक गरेको छ।

त्यस्तै, बजारमा आवश्यकताभन्दा बढी करिब ८० लाख नयाँ सिलिन्डर छरिएकाले पनि अहिलेको ग्यास अभावको अवस्था सिर्जना भएको महासंघको भनाइ छ।

अहिले पनि नयाँ सिलिन्डर बिक्री नरोकिएको भन्दै महासंघले त्यसलाई तत्काल नियन्त्रण नगरिए आगामी वर्षहरूमा ग्यास अभावको समस्या अझ विकराल बन्ने चेतावनी दिएको छ।

महासंघले नेपाल आयल निगम, वाणिज्य मन्त्रालय तथा सरकारमाथि वास्तविक समस्या समाधान गर्नुभन्दा अनावश्यक प्रचारबाजीमा बढी केन्द्रित भएको आरोप लगाएको छ।

महासंघले ग्यासको आपूर्ति, आयात र वितरण प्रणालीमा देखिएका समस्याको दीर्घकालीन समाधान खोज्दै प्रभावकारी वितरण संयन्त्रलाई पुनः व्यवस्थित गर्न सरकारसँग आग्रह गरेको छ।