अध्यक्ष हटाउने विषयलाई ‘ख्यालठट्टा’ का रूपमा नलिन ओलीको चेतावनी

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अनुशासनहीन र अराजक गतिविधि सह्य नहुने बताएका छन्।

झापा एमालेले बिर्तामोडबाट सुरु गरेको ‘मिसन जागरण’ कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सामाजिक सञ्जालमा स्टाटस लेखेर वा हस्ताक्षर अभियान चलाएर पार्टी अध्यक्ष हटाउने प्रयासप्रति असन्तुष्टि जनाएका हुन्।

‘सामाजिक सञ्जालमा स्टाटस लेखेर अध्यक्ष हटाउने ? हस्ताक्षर क्याम्पेन गरेर अध्यक्ष हटाउने ? पार्टीमा यस्तो शैली सह्य हुँदैन,’ ओलीले भने।

अध्यक्षबाट हटाउनुपर्ने धारणा भए पार्टीको सम्बन्धित कमिटीमा औपचारिक रूपमा कुरा राख्नुपर्ने उनको भनाइ छ।

यसअघि इलामको एक कार्यक्रममा समेत ओलीले आफूलाई अध्यक्ष पदबाट हटाएर देखाउन चुनौती दिएका थिए। उनले पार्टी अध्यक्ष हटाउने कुरा गर्नेहरू पार्टी सदस्य नै हुन् कि होइनन् भन्ने प्रश्नसमेत गरेका थिए।

‘अध्यक्षलाई हटाउने ! पार्टी सदस्य छ कि छैन ?’ भन्दै ओलीले पार्टी कार्यालयको क्यान्टिनमा बसेर चिया पिउँदै गफ गरेकै भरमा अध्यक्ष नहट्ने बताएका थिए।

पार्टीभित्र अनुशासनहीनता र अराजकता बढेको भन्दै उनले अध्यक्ष हटाउने विषयलाई ‘ख्यालठट्टा’ का रूपमा नलिन चेतावनी दिए।

‘ख्याल–ख्याल जस्तो गरेर पार्टी अफिसको क्यान्टिनमा बसेर केही आभाराहरू अध्यक्ष हटाउने कुरा… मानिलिऔँ, ख्याल हो, ठट्टा हो जस्तो गरेर,’ उनले भने।

एमालेभित्र ओलीलाई अध्यक्षबाट हटाउन केही नेताहरूले हस्ताक्षर अभियानसमेत सुरु गरेकोतर्फ संकेत गर्दै उनले त्यस्तो अभियानको पार्टीको विधान र प्रक्रियासँग कुनै सम्बन्ध नरहेको दाबी गरे।

‘कोही हस्ताक्षर गर्दै हिँड्या छन् अध्यक्ष हटाउने भनेर। यसका पछाडि केही दम छैन, केही छैन। न पार्टीको तरिका न विधान। अस्ति महाधिवेशन भएको थियो। आफैं पनि सहभागी भयो होला,’ ओलीले भने।

पार्टीभित्र नेतृत्व परिवर्तनका लागि निश्चित विधि र समय हुने उनको भनाइ छ। अहिले पार्टीभित्र अध्यक्ष हटाउनेजस्ता विषय उठाउनु उपयुक्त नभएको ओलीले बताए।

उनले बाह्य शक्तिबाट पार्टीमाथि दबाब र चुनौती बढिरहेका बेला एमाले एकजुट भएर सामना गर्नुपर्नेमा आन्तरिक विवादमा अल्झिनु गलत भएको टिप्पणी गरे।

‘जति बेला विरोधी शक्तिले तीव्र प्रहार गरेको छ, हामीलाई झेल्न मुस्किल भइरहेको छ, त्यतिबेला सिंगै पार्टी एकजुट भएर सामना गर्नुपर्ने, मुकाबिला गर्नुपर्ने ठाउँमा अहिले पार्टीभित्र अध्यक्ष हटाउँछु भन्या छ, के भन्या छ। अहिले यी सबै कुराहरू बेकार छन्,’ ओलीले भने।