पार्टी दर्तासँगै धवलशम्शेरद्वारा स्थानीय चुनावका लागि उम्मेदवार आह्वान
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भएका नेता डा. धवलशम्शेर राणाको अध्यक्षतामा ‘जय नेपाल पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको छ।
पार्टी दर्ता भएसँगै राणाले संगठन विस्तारको कामसमेत तत्काल सुरु गर्ने बताएका छन्। उनले केन्द्रीय कार्यसमिति गठनसँगै प्रदेश, जिल्ला र स्थानीय तहसम्म संगठन विस्तार गर्दै लैजाने जानकारी दिएका छन्।
यसअघि व्यवसायी दुर्गा प्रसाईंसँग मिलेर नयाँ राजनीतिक शक्ति निर्माण गर्ने तयारी गरे पनि अन्तिम समयमा सहमति जुट्न नसकेपछि राणा एक्लैले नयाँ पार्टी गठन गरेका हुन्।
पार्टी दर्तापछि राणाले राजसंस्था र धर्ममा विश्वास राख्ने, प्रदेश संरचनाको पुनर्संरचना चाहने, भ्रष्टाचार न्यूनीकरण तथा सुशासनको पक्षमा रहेका सबै नेपालीलाई एकजुट भएर अघि बढ्न आह्वान गरेका छन्।
उनले आगामी स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न इच्छुक तथा प्रतिभाशाली नागरिकलाई पार्टीसँग सम्पर्क गर्नसमेत आग्रह गरेका छन्।
राणाले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै पार्टीमा आबद्ध भएर आवश्यक तयारीसहित अघि बढ्न इच्छुक व्यक्तिहरूलाई आह्वान गरेका हुन्।
उनका अनुसार पार्टीले आगामी दिनमा संगठन विस्तारलाई प्राथमिकतामा राख्दै स्थानीय तहसम्म राजनीतिक गतिविधि अघि बढाउनेछ।
