आवश्यक परे सरकारलाई कान समातेर सच्याउने क्षमता रास्वपासँग छ : रवि लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेले सरकारले आफ्नो लक्ष्य र प्रतिबद्धताअनुसार काम गर्न नसके पार्टीले हस्तक्षेप गरेर सही बाटोमा ल्याउने बताएका छन्।
सरकारको कार्यशैली र स्थायित्वबारे टिप्पणी गर्दै लामिछानेले सरकार आफ्नो मार्गबाट विचलित भए त्यसलाई नियन्त्रण गर्दै पुनः सही दिशामा ल्याउने राजनीतिक क्षमता रास्वपासँग रहेको दाबी गरे।
‘सरकारले आफ्नो वाचा र लक्ष्यअनुसार काम गर्छ। काम गर्न सकेन वा बाटो बिरायो भने सरकारलाई सही बाटोमा ल्याउने राजनीतिक पार्टी हामीसँग छ,’ उनले भने, ‘आवश्यक परे जतिखेर पनि सरकारलाई कान समातेर सच्याउन सक्ने क्षमता पार्टीले राख्छ। तर अहिले त्यो अवस्था आएको छैन र आउन पनि दिँदैनौँ।’
सरकार आफ्नो ‘लिक’बाट बाहिरिए पुनः सही मार्गमा ल्याएर यात्रालाई सहज बनाउनेतर्फ आफूहरू अघि बढ्ने उनले बताए।
लामिछानेले सरकार सञ्चालनको अवस्थालाई हवाई उडानसँग तुलना गर्दै कहिलेकाहीँ प्राविधिक समस्या वा बाह्य कारणले आउने ‘टर्बुलेन्स’बाट आत्तिन नहुने बताए। उनले आम नागरिकलाई ढुक्क रहन आग्रह गर्दै सरकारलाई सही ढङ्गले गन्तव्यमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे।
सभापति लामिछानेले सरकार गठन भएको चार महिनाको अवधिमा जनअपेक्षाअनुसार परिवर्तनको स्पष्ट आभास भने देखिन नसकेको स्वीकार गरेका छन्।
सरकारको चार महिनाको कार्यसम्पादनलाई पूर्ण रूपमा मूल्याङ्कन गर्ने समय नभए पनि यस अवधिमा केही सकारात्मक परिवर्तनका संकेत देखिनुपर्ने उनको भनाइ छ।
‘सरकार गठन भएको चार महिना मात्र भएको छ। यसैलाई आधार बनाएर सरकारको पूर्ण मूल्याङ्कन गर्ने बेला भएको छैन। तर यो अवधिमा केही सकारात्मक परिवर्तनको छनक भने देखिनुपर्थ्यो,’ लामिछानेले भने।
उनले नागरिकका सुझाव, गुनासा र अपेक्षालाई पार्टीले नजिकबाट सुनिरहेको भन्दै वर्तमान अवस्थाप्रति चिन्तित नहुन आग्रह गरे।
रास्वपामा समाज परिवर्तनका लागि हुटहुटी भएका युवा तथा विभिन्न क्षेत्रका व्यावसायिक र विज्ञ व्यक्तिहरूको ठूलो समूह रहेको दाबी गर्दै लामिछानेले असहज परिस्थितिलाई समेत सम्हाल्न सक्ने राजनीतिक अभिभावकत्व पार्टीसँग रहेको बताए।
‘अप्ठ्यारो परिस्थितिलाई सम्हाल्न सक्ने राजनीतिक नेतृत्व र जिम्मेवारी हाम्रो पार्टीसँग छ। किनकि यो पार्टीमा केही गरौँ भन्ने हुटहुटी भएका युवाहरू छन्,’ उनले भने, ‘परिवर्तनका लागि गैरराजनीतिक पृष्ठभूमिका प्रोफेसनलहरूको ठूलो समूह एकजुट भएर अघि बढ्ने चेतना कुनै पनि देशले सहजै पाउँदैन। हामी अहिले त्यही चेतनाको अवस्थामा छौँ।’
लामिछानेले वर्तमान सरकार नागरिककै सरकार भएको उल्लेख गर्दै इतिहासले सुम्पिएको जिम्मेवारी जनतासँगको सहकार्यबाट सफल बनाउने प्रतिबद्धता पनि व्यक्त गरे।
