सरकार संकटमा पर्दा जनताको ध्यान मोड्न विषयान्तर गरिरहेको कांग्रेसको आरोप
काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकार नैतिक र राजनीतिक संकटमा परेका बेला समस्या समाधानतर्फ अग्रसर हुनुको सट्टा नयाँ–नयाँ विषय अघि सारेर जनताको ध्यान अन्यत्र मोड्न खोजिरहेको आरोप लगाएको छ।
बुधबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका प्रवक्ता देवराज चालिसेले सरकार जनविश्वास गुमाउँदै गए पनि त्यसको समाधान खोज्नभन्दा विषयान्तर गर्ने रणनीतिमा केन्द्रित भएको टिप्पणी गरे।
उनले सरकार समस्याको समाधान गर्नभन्दा अर्को घटना वा नयाँ बहस सिर्जना गरेर मूल मुद्दाबाट जनताको ध्यान हटाउने प्रयासमा लागेको दाबी गरे। उनका अनुसार सुशासन, पारदर्शिता, उत्तरदायित्व र नागरिक अधिकारसँग सम्बन्धित विषयहरूलाई कुनै पनि प्रयासले ओझेलमा पार्न सकिँदैन।
प्रवक्ता चालिसेले समय वा सरकारी प्रयासले केही महत्वपूर्ण सार्वजनिक मुद्दाको महत्व कम गर्न नसक्ने उल्लेख गर्दै ती विषयहरू निरन्तर जनचासोको केन्द्रमा रहने बताए।
कांग्रेसले वर्तमान सरकार अस्थिर होस् भन्ने आफ्नो चाहना नभएको स्पष्ट पार्दै सुशासन, पारदर्शिता र उत्तरदायित्वका आधारमा सरकार बलियो र स्थिर बन्नुपर्ने धारणा दोहोर्याएको छ। उनले लोकतान्त्रिक शासन प्रणालीलाई सुदृढ बनाउने जिम्मेवारी सरकारकै भएको बताए।
उनले कांग्रेस कुनै पनि राजनीतिक दलको आन्तरिक मामिलामा टिप्पणी गर्न इच्छुक नरहेको उल्लेख गर्दै सरकारका गतिविधिका कारण लोकतान्त्रिक प्रणाली, संवैधानिक मूल्य र नागरिक अधिकारमाथि प्रश्न उठेका अवस्थामा भने मौन बस्न नसकिने बताए।
प्रवक्ता चालिसेले पछिल्ला राजनीतिक घटनाक्रमले सत्तामा पुगेका सबै दल संवैधानिक सर्वोच्चता र लोकतान्त्रिक मूल्यमान्यताप्रति समान रूपमा प्रतिबद्ध रहन्छन् भन्ने सुनिश्चितता नहुने देखाएको पनि टिप्पणी गरे। उनका अनुसार कुनै दलको विचार, इतिहास, लोकतान्त्रिक अभ्यास र भविष्यप्रतिको प्रतिबद्धताले नै लोकतन्त्रप्रतिको विश्वासको वास्तविक परीक्षण गर्ने गर्दछ।
