कांग्रेस विभाजन रोक्न ‘तेस्रो धार’को चारबुँदे प्रस्ताव, महाधिवेशन निष्पक्ष बनाउन जोड

काठमाडौं। नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवाद समाधान गरी पार्टी एकताबद्ध बनाउन ‘तेस्रो धार’ले चारबुँदे प्रस्ताव अघि सारेको छ। कांग्रेस नेता नैनसिंह महरले नेतृत्व तहबीच सहमति खोज्न निरन्तर संवाद भइरहेको र पार्टी एकताका लागि विभिन्न विकल्पमा छलफल चलिरहेको जानकारी दिएका छन्।‘देश र कांग्रेस जोड्ने अभियान’ अन्तर्गत आयोजित एकता–सद्भाव विमर्श कार्यक्रममा बोल्दै महरले आफूहरू र नेता रञ्जित कर्णलगायतको पहलमा पार्टीभित्र सहमतिको वातावरण बनाउन ‘तेस्रो धार’ सक्रिय भएको बताए।

उनका अनुसार कांग्रेसका अधिकांश नेता–कार्यकर्ताको चाहना पार्टीलाई एकताबद्ध, सुदृढ र प्रभावकारी बनाउने रहेको छ। देश चुनौतीपूर्ण परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै उनले कांग्रेसलाई साझा राजनीतिक घरका रूपमा संरक्षण गर्दै सबै पक्षले सहकार्य गर्नुपर्ने आवश्यकता औँल्याए।

महरले पछिल्ला दुई महिनादेखि सभापति, पूर्वसभापति तथा वर्तमान र पूर्वपदाधिकारीहरूसँग निरन्तर संवाद भइरहेको जानकारी दिए। उनका अनुसार पार्टीभित्रको विवाद वैचारिकभन्दा पनि १५औँ महाधिवेशनपछि शक्ति सन्तुलन र नेतृत्वको समीकरणसँग बढी जोडिएको छ।

उनले पार्टी एकताका लागि आवश्यक परे आफूहरूसहित करिब ३५ जना केन्द्रीय सदस्य पदसमेत त्याग्न तयार रहेको बताए। “पार्टी मिल्छ भने पदभन्दा एकता ठूलो हो,” भन्ने सन्देश आफूहरूले दिएको उनको भनाइ थियो।

तेस्रो धारले सहमतिका लागि चार प्रमुख विकल्प अघि सारेको छ। पहिलो, सबै पक्षको सहभागितासहित निष्पक्ष महाधिवेशन सुनिश्चित गर्ने। दोस्रो, सदस्यता छानबिन समिति, निर्वाचन समिति र अनुशासन समितिलगायत महाधिवेशनसँग सम्बन्धित संरचनामा सर्वसम्मत सहभागिता सुनिश्चित गर्ने। तेस्रो, सभापतिको नेतृत्वमा विशेष संयन्त्र गठन गरी महाधिवेशनसम्बन्धी विवाद समाधान र तयारी निष्पक्ष रूपमा अघि बढाउने। चौथो, पार्टी विधानभित्र रहेर बाँकी संरचनामा सबै पक्षलाई समेट्ने सहमति खोज्ने।

महरका अनुसार सभापतिको नेतृत्वमा बन्ने विशेष संयन्त्रको उद्देश्य पद बाँडफाँट नभई निष्पक्ष महाधिवेशनका लागि आवश्यक वातावरण तयार गर्नु हुनेछ। यस विषयमा पार्टी नेतृत्वसँग सकारात्मक छलफल भइरहेको उनले बताए।

उनले साउन २४ गते बस्ने केन्द्रीय समिति बैठकले पार्टी एकताको दिशामा महत्वपूर्ण निर्णय गर्ने विश्वास व्यक्त गर्दै धेरै विषयमा सहमति नजिक पुगिसकेको दाबी गरे।

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा आन्तरिक विवाद लम्बिए त्यसको प्रत्यक्ष असर चुनावी परिणाममा पर्न सक्ने चेतावनी दिँदै महरले कांग्रेस कुनै व्यक्ति वा परिवारको संगठन नभई जनताको भरोसाको संस्था भएकाले त्यसको एकता जोगाउनु सबैको साझा जिम्मेवारी भएको बताए।