अर्थमन्त्री वाग्लेको आह्वान : गुमेको औद्योगिक अवसर सरकार–निजी क्षेत्रको सहकार्यबाट पुनर्स्थापित गरौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आयातमा आधारित उपभोगमुखी अर्थतन्त्रलाई स्वदेशी उत्पादनमा आधारित निर्यातमुखी अर्थतन्त्रमा रूपान्तरण गर्न उद्योग क्षेत्रले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताएका छन् ।

मंगलबार सिंहदरबारमा उद्यमीहरूसँग आयोजित छलफल कार्यक्रममा बोल्दै उनले लामो समयदेखि नेपालले गुमाउँदै आएको औद्योगिक अवसरलाई सरकार र निजी क्षेत्रको सहकार्यबाट पुनर्स्थापित गर्ने समय आएको बताए।

अर्थमन्त्री वाग्लेले निजी क्षेत्रको लगानी सुरक्षित रहने, उचित प्रतिफल प्राप्त हुने तथा पुनः लगानीका लागि अनुकूल वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरे। उनले निजी क्षेत्रको सफलता नै राष्ट्रिय अर्थतन्त्रको सफलता भएको भन्दै उद्यमीको नाफा र सम्पत्तिको सुरक्षालाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए।

उनका अनुसार चालु आर्थिक वर्षको बजेटमार्फत घोषणा गरिएका आर्थिक सुधारका कार्यक्रमहरू तीव्र गतिमा कार्यान्वयन भइरहेका छन्। आवश्यक कानुनी संशोधन, नियमावली, कार्यविधि तथा संस्थागत सुधार समयबद्ध रूपमा अघि बढाइने उनले जानकारी दिए।

वाग्लेले पूँजीगत खर्च बढाउने, विकास आयोजना कार्यान्वयनलाई तीव्रता दिने, पूँजी बजार र वित्तीय क्षेत्र सुधार गर्ने तथा लगानीमैत्री वातावरण सुदृढ बनाउने कार्य समानान्तर रूपमा अघि बढिरहेको बताए।

उनले नेपाललाई अधिकतम लगानीमैत्री र व्यवसायमैत्री अर्थतन्त्रका रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै स्वदेशी उत्पादनमार्फत आयात प्रतिस्थापन र निर्यात विस्तारको नेतृत्व उद्योग क्षेत्रले गर्नुपर्नेमा जोड दिए।

त्यसैगरी, निजी क्षेत्रमा देखिएका लगानीसम्बन्धी अवरोध हटाउन सरकार प्रतिबद्ध रहेको दोहोर्‍याउँदै उनले लगानी वृद्धि, उत्पादन विस्तार, उद्योग स्थापना तथा रोजगारी सिर्जनामार्फत नेपालको आर्थिक भविष्य निर्माण गर्ने साझा अभियानमा सहभागी हुन उद्यमीहरूलाई आग्रह गरे।