सुनसरी घटनाप्रति रवि लामिछानेको चिन्ता, हिंसाबाट होइन संवादबाट समाधान खोज्न आग्रह
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुनसरीसहित पूर्वी तराईका जिल्लाहरूमा हालै भएका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै कुनै पनि विवादको समाधान हिंसा र मुठभेडबाट सम्भव नहुने बताएका छन् ।
मंगलबार जारी विज्ञप्तिमा उनले घटनाबाट सिर्जित तनावपूर्ण अवस्थाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्। साथै, घाइते भएका नागरिक र सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
लामिछानेले असन्तुष्टि वा विवाद समाधानका लागि हिंसात्मक बाटो स्वीकार्य नहुने स्पष्ट गर्दै नेपालको बहुलवादी संस्कृति, सामाजिक सद्भाव, सहिष्णुता र आपसी एकतालाई जोगाउन सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गरेका छन्।
विज्ञप्तिमा उनले सामाजिक तथा साम्प्रदायिक सद्भावमा असर पुग्ने कुनै पनि गतिविधिमा संलग्न नहुन तथा अफवाह र उत्तेजनाबाट टाढा रही संयमता अपनाउन आम नागरिक, नागरिक अगुवा, धार्मिक तथा सामाजिक व्यक्तित्व र सरोकारवालाहरूलाई अपिल गरेका छन्।
रास्वपा सरकारले शान्ति–सुरक्षा कायम गर्न, नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्न र अवस्था सामान्य बनाउन आवश्यक सहजीकरण गरिरहेको पनि उनले उल्लेख गरेका छन्। साथै घटनाको स्वतन्त्र, निष्पक्ष र द्रुत छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न तथा पीडितलाई उचित न्याय, क्षतिपूर्ति र निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
लामिछानेले रास्वपा शान्ति, न्याय र सामाजिक सद्भावको पक्षमा दृढ रहेको उल्लेख गर्दै संवादमार्फत समस्याको शान्तिपूर्ण समाधान खोज्न पार्टीले सकारात्मक भूमिका खेलिरहने बताएका छन्।
उनले घटनालाई राजनीतिक रंग नदिन सबै राजनीतिक दल र सरोकारवालासँग आग्रह गर्दै रास्वपाका स्थानीय समिति तथा पार्टीका सम्पूर्ण सदस्यलाई शान्ति र सद्भाव कायम राख्न सक्रिय भूमिका निर्वाह गर्न निर्देशनसमेत दिएका छन्।

