तीन दल एक भए पनि प्रतिगामी संशोधन रोक्न सक्ने अवस्था छैन, जनता सचेत हुनुपर्छ’ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले वर्तमान राजनीतिक शक्ति सन्तुलनका कारण संविधानमा हुन सक्ने प्रतिकूल संशोधन रोक्न कठिन अवस्था सिर्जना भएको बताएका छन्।

४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै ज्ञवालीले संविधान र लोकतान्त्रिक उपलब्धिहरू चुनौतीमा परेको दाबी गर्दै नागरिक सचेत नभए स्थिति थप जटिल बन्न सक्ने चेतावनी दिए।

उनले विगत सात दशकमा प्राप्त राजनीतिक उपलब्धिहरू धरापमा परेको उल्लेख गर्दै वर्तमान सरकारको कार्यशैलीप्रति पनि आलोचना गरे।

‘हामीले यस्ता प्रधानमन्त्री पाएका छौं, जसले सामाजिक सञ्जालमा पोस्ट गर्न सक्नुहुन्छ, तर गणतन्त्र दिवसका अवसरमा गणतन्त्रको शुभकामना दिन सक्नुहुन्न। सार्वजनिक कार्यक्रममा जानुहुन्छ, तर गणतन्त्रको पक्षमा बोल्नुहुन्न,’ ज्ञवालीले भने।

संविधान संशोधनका नाममा भइरहेका गतिविधिले मुलुकलाई अप्ठ्यारो परिस्थितितर्फ धकेलिरहेको उनको भनाइ थियो।

‘अहिले शक्ति सन्तुलन हाम्रो प्रतिकूल छ। संविधान निर्माणमा मुख्य भूमिका खेलेका तीनवटा दल एक ठाउँमा उभिँदा पनि प्रतिनिधिसभामा उनीहरूका प्रयास रोक्न सक्ने अवस्था छैन। हाम्रो एकतिहाइ संख्या पनि छैन,’ उनले भने, ‘राष्ट्रिय सभाले केही सन्तुलन कायम गर्ला भन्ने आशा छ।’

ज्ञवालीले वर्तमान अवस्थाले आफूले प्रतिगामी ठानेका संविधान संशोधनका प्रयास रोक्न नसक्ने तहमा मुलुक पुगेको दाबी गरे।

उनले पछिल्ला भूराजनीतिक गतिविधिप्रति पनि चिन्ता व्यक्त गर्दै विदेशी सैन्य अधिकारीहरूको भ्रमण, ‘फ्री तिब्बत’ अभियान र दलाई लामाको जन्मोत्सवसँग सम्बन्धित गतिविधिलाई नेपालमाथि बढ्दो भूराजनीतिक दबाबका संकेतका रूपमा व्याख्या गरे।

प्रधानमन्त्रीले संसद्मा दिएको अभिव्यक्तिलाई पनि उल्लेख गर्दै ज्ञवालीले त्यस्ता अभिव्यक्तिले नेपाललाई थप भूराजनीतिक जटिलतातर्फ धकेल्ने जोखिम रहेको दाबी गरे।