काठमाडौं प्रहरीको सक्रियता : १,८७१ अपराधीको प्रोफाइल तयार, एआईबाट ५९ पक्राउ, ५७ विदेशी महिला नियन्त्रणमा
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले गुण्डागर्दी तथा विभिन्न आपराधिक गतिविधिमा संलग्न १ हजार ८७१ जनाको विस्तृत प्रोफाइल तयार गरेको जनाएको छ। प्रहरीले कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिबाट ५९ जना संदिग्धलाई पक्राउ गरेको र अनैतिक गतिविधिमा संलग्न ५७ विदेशी महिलालाई नियन्त्रणमा लिएको जानकारी पनि दिएको छ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईले काठमाडौंमा हुने विभिन्न प्रकारका अपराध नियन्त्रणलाई प्रभावकारी बनाउन १,८७१ जना अपराधमा संलग्न व्यक्तिको विवरण संकलन गरिएको बताए।
उनका अनुसार अपराध अनुसन्धानलाई सहज बनाउन ती व्यक्तिको तीन पुस्तेसम्मको विवरणसहित प्रोफाइल तयार गरिएको छ। पटके अभियुक्त तथा अपराधको प्रकृतिअनुसार छुट्टाछुट्टै वर्गीकरण गरी विवरण राखिएको उनले बताए। यस्तो अभिलेखले कुनै अपराध भएमा संदिग्धको पहिचान, खोजी तथा अनुसन्धानमा सहयोग पुग्ने प्रहरीको विश्वास छ।
प्रहरीले काठमाडौंका विभिन्न स्थानमा जडान गरिएका एआई क्यामेराको प्रयोगबाट ५९ जना संदिग्ध व्यक्तिको पहिचान गरी पक्राउ गरिएको पनि जनाएको छ।
त्यसैगरी आर्थिक वर्ष २०८२/८३ मा अनैतिक गतिविधिमा संलग्न रहेको आरोपमा ५७ विदेशी महिलालाई पक्राउ गरिएको जानकारी दिइएको छ। पक्राउ परेकामध्ये ४७ जनालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी अध्यागमन विभागमार्फत सम्बन्धित देशमा फिर्ता (डिपोर्ट) गरिएको छ भने बाँकी १० जनाको डिपोर्ट प्रक्रिया जारी रहेको एसपी भट्टराईले बताए।
उनका अनुसार बैंककसहित केही अफ्रिकी मुलुकका महिलाको नेपालमा आएर अनैतिक गतिविधिमा संलग्न हुने प्रवृत्ति बढ्दो देखिएको छ।
प्रहरीले सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउन प्रहरी सेवाबाट बिचौलियाको प्रभाव हटाउने प्रयास पनि अघि बढाइएको जनाएको छ।
